काठमाडौं। नेपालमा नगदरसहित आर्थिक प्रणाली सेवा सुरु गरेर कारोबारको महत्त्वपूर्ण माध्यम बनेको ईसेवाले स्थापनाको १६औं वर्ष प्रवेश गरेको छ। १५ वर्षे अवधिमा डिजिटल वालेटको अवधारणाअनुसार काम गर्नुका साथै देशव्यापी दायरा बढाउन सफल भएको कम्पनीले जनाएको छ।
नेपालमा डेढ दशक अघिसम्म आपसी लेनदेन भुक्तानी मुख्य माध्यम नगद मात्र रहेकामा कम्पनीले सेवाग्राहीलाई सुविधा दिन डिजिटल अवधारणा ल्याएको थियो। वित्तीय संस्थामा लामो लाइन बसेर गरिने आर्थिक गतिविधि आफैंमा अत्यासलाग्दो थियो। तर, ईसेवाले नेपालको वित्तीय व्यवहारलाई डिजिटलयुक्त बनाएर ‘लाइनबाट अनलाइन’ भुक्तानी प्रणालीको विकासमा अतुलनीय योगदान दिएको छ।
हाल कम्पनीले नेपालभर ७५३ क्षेत्रमा सेवा दिँदै आएको जनाएको छ। सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको प्रोडक्ट भए पनि सन् २०१२ देखि छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ। यसै वर्ष इसेवाले एजेन्ट नेटवर्क पनि सुरु गरेको छ।
नेपालको डिजिटल रुपान्तरणको लक्ष्य लिनुको परिणामस्वरुप सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड’ प्राप्त गर्न सफल भएको कम्पनीको दाबी छ।
ईसेवाले लाखौं साना तथा मझौला उद्यमीलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन सक्षम बनाई आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँदै आएको छ। मोबाइल टपअपबाट सुरु भएको ईसेवाबाट अहिले नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिने भएको छ।
इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, बिमालगायत २ हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिंक सुविधा दिँदै आएको छ।
हाल कम्पनीमा ४ सय ५० बढी व्यक्तिले रोजगारी पाएका छन्। ईसेवाका २ लाख ६८ हजारभन्दा बढी एजेन्ट छन्। भविष्यमा बचत तथा लगानीका योजना ल्याएर सेवाग्राहीको आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष विश्वास ढकालले बताए।