काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपाली अग्र्यानिक कफीको माग उच्च भएपनि उत्पादन निक्कै कम भइरहेको छ । विश्व बजारमा नेपाली कफीको माग झण्डै ८ हजार मेट्रिक टन रहेको नेपाल चिया तथा कफी विकाश बोर्डको भनाई छ ।
तर, नेपालमा कफी उत्पादन भने निकै कम ५ सय ३० मेट्रिक टन मात्रै रहेको छ । अझ यसमा पनि निर्यात ८४ मेट्रिक टन मात्रै रहेको बोर्डको तथ्यांक छ । बोर्डको अनुसार विश्वबजारमा नेपाली कफी प्रति किलोग्राम १२ अमेरिकी डलर (करिब १४ सय नेपाली रुपैया) मा बिक्री हुन्छ ।
नेपाली कफी निर्यातबाट आर्थिक वर्ष २०७५/७६ मा नेपालले झण्डै १० करोड रुपैयाँ आम्दानी गरेको छ । तर, नेपालले विश्व बजारको माग अनुसार उत्पादन र निर्यात गर्न सकेमा झण्डै ९ अर्ब रुपैयाँ कफी निर्यातबाट मात्र आम्दानी गर्न सकिने देखिन्छ । तर, नेपाली बजारमा भने स्वदेशी अग्र्यानिक कफी भन्दा विदेशबाट आयात गरिएको प्रशोधित कफीको खपत बढी रहेको छ ।
आर्थिक बर्ष २०७५÷७६ मा विदेशबाट १२ सय ६२ मेट्रिक टन कफी आयात भएको देखिन्छ । यो स्वदेशी उत्पादनको खपतदर भन्दा झण्डै दोब्बर हो ।
नेपाली उत्पादन गुणस्तरिय र केहि महंगो पनि हुने कारण स्वदेशमा भन्दा विदेशमा बढी माग रहेको व्यवसायीहरु बताउछन् । उच्च भू भागमा उत्पादन हुने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा छुट्टै ब्राण्ड स्थापित छ । तर, अन्तर्राष्ट्रिय माग अनुसार उत्पादन भने ज्यादै न्यून छ ।
नेपालमा झन्डै ८ लाख हेक्टर क्षेत्रफल कफी खेती गर्न उत्तम देखिएको छ । तर अहिले त्यसको करिब एक तिहाई २७ सय ६१ हेक्टर जमिनमा मात्रै कफी खेती गरिएको छ । स–साना किसानले परम्परागत पद्धति र जमिनको सानो क्षेत्रफलमा कफी खेती गर्दा अपेक्षित उत्पादन हुन नसकेको बोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनाल बताउँछन् ।
स्वदेशी कफीको मुल्य राम्रो भएको कारण निक्कै कम निर्यात हुँदा पनि आयातको खर्च भन्दा निर्यातबाट भएको कमाई बढी छ । उनका अनुसार ८४ मेट्रिक टन कफीको निर्यातबाट झन्डै १० करोड रुपैयाँ आम्दानी हुन्छ । तर, विदेशबाट १२ सय मेट्रिक टनभन्दा आयात गर्दा झन्डै ९ करोड खर्च हुने खनाल बताउँछन् ।
‘नेपाली कफी स्वदेशमा मात्रै होइन्, विदेशमा ब्रान्ड बनेको छ’ उनले भने, ‘हाम्रो सानो परिमाणको निर्यात विदेशबाट आउने १२६२ मेट्रिक टन कफीको मुल्यभन्दा बढि पर्छ ।’
यस्तो छ उत्पादनको अवस्था ?
बोर्डको तथ्याङ्कअनुसार आव २०७१/०७२ मा २३ सय ८१ क्षेत्रफलमा ४ सय ६३ टन कफी उत्पादन भएको थियो । त्यस्तै, आव २०७२/०७३ मा कफी उत्पादनको क्षेत्रफल विस्तार भएर २६ सय १८ हेक्टर पुग्यो । उक्त अवधिमा ४ सय ३४ टन कफी उत्पादन भएको थियो ।
त्यसैगरी आव २०७३/०७४ मा २६ सय ४६ हेक्टर क्षेत्रफलमा ४६६ टन कफी उत्पादन भएको थियो । आव २०७४/०७५ मा उत्पादन बढेर ५ सय १३ मेट्रिक टन पुगेको छ । उक्त बर्ष २७ सय ६१ हेक्टर जमिनका कफी खेती गरिएको थियो ।
नेपालमा कफी उत्पादनयोग्य क्षेत्रको पहिचान र क्षेत्र विस्तार हुन नसक्दा किसानले स–सानो जग्गामा व्यक्तिगत तरिको उत्पादन गरिरहेका छन् । सोहि कारण हरेक वर्ष कफी उत्पादनमा उतारचढाव आउने गर्छ ।
नेपाली कफी जर्मन, स्वीजरल्यान्ड र कोरियामा संस्थागत रुपमा निर्यात हुने गर्छ । त्यसबाहेक अमेरिका, क्यानडा र अष्ट्रेलियालगायतका देशमा समेत नेपाली कफी निर्यात हुने गर्छ । अहिले नेपालको १९ ओटा जिल्लामा कफीको व्यवसायीक उत्पादन हुँदै आइरहेको छ । समुन्द्री सतहदेखि ८०० देखि १६०० मिटरको उचाइमा कफी उत्पादन गर्न सकिन्छ । गत बैशाखमा नेपाली कफी व्यवसाय प्रवद्र्धनका लागि सम्मेलनसमेत गरिएको थियो ।