ताप्लेजुङ। ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ।
हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका छन्।
जिल्लाका सबै राजनीतिक दलहरू, सांसद, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकायसमेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रूत गतिमा अघि बढ्ने उनले बताए।
केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भइ सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको लागि कोशे ढुङ्गा बन्ने उनको भनाइ छ।
अबको १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने पौडेलले विश्वास व्यक्त गरे। यो केबलकारले अशक्त वृद्धवृद्धा तथा बालबालिकाका लागि सहज हुने बताइएको छ।
पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पौडेलको दाबी छ। यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको संख्या १० लाख सम्म अनुमान गरिएको छ।
पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ। उक्त ग्रुपले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरेको छ। यही कम्पनीले पहिलोपटक केबलकार चन्द्रागिरिमा निर्माण गरेको थियो। अहिले चन्द्रागिरि केबलकारका लागि प्रख्यात छ।
यस्तै नवलपुरको मौलाकाली र बुटवलको लुम्बिनी केबलकारको निर्माण पनि यही ग्रुपले गरेको हो। अहिले कर्णालीको जालपादेवी केबलकार निर्माणको काम पनि द्रूत गतिमा अघि बढेको छ।