काठमाडौं। नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकको वाणिज्य बैंक सुपरिवेक्षण विभागले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै हिमालयन, एनआईसी एसिया र प्रभु बैंकलाई कारबाही गरेको हो।
विभागले चालू वर्षको दोस्रो त्रैमासमा बैंकहरु, बैंक अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई गरिएको कारबाहीको रिपोर्टअनुसार तीन वटै बैंकले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३, राष्ट्र बैंक ऐन, २०५८ र एकीकृत निर्देशन, २०८० को व्यवस्था उल्लंघन गरी कारबाहीमा परेका हुन्।
प्रभु बैंकले सञ्चालक समिति सदस्य नियुक्तिमा बेथिति गरेको, राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियत समयमै सुधार नगरेको, नियामकिय प्रावधानअनुसार कर्जा नोक्सानी बापतको व्यवस्था नराखेको र पुँजीकोष प्रावधान पालना नगरेकोे पाइएपछि राष्ट्र बैंकले बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतालाई सचेत गराएको छ।
साथै, उक्त अवधिमा हिमालयन बैंकले नियामकिय प्रावधानअनुसार कर्जा नोक्सानी नराख्दा प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ।
यस्तै, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल र रामचन्द्र संघाईले आफ्नो परिवारका सदस्यलाई मुद्दती निर्देशपमा प्रकाशितभन्दा बढी ब्याज दिएको पाइएको थियो।
बढी दिइएको ब्याज फिर्ता गराई राष्ट्र बैंकले सीईओ न्यौपाने, अध्यक्ष अग्रवाल र सञ्चालकलाई राष्ट्र बैंक ऐन, २०५८ बमोजिम नसिहत दिएको छ।
यस्तै, बैंकले कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाअनुसार प्रोभिजन नराखेको, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन उल्लंघन गरेको, ब्याजदरसम्बन्धी निर्देशन उल्लंघन गरेको हुँदा राष्ट्र बैंकले अन्य कारबाही गरेको हो।
कुन बैंकको के गल्ती
प्रभु बैंक
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरिएको हुनाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभुको सञ्चालक समितिलाई सचेत गराइएको।
–बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ख) को व्यवस्थाबमोजिम वार्षिक साधारणसभा हुनुभन्दा अगाडि कुनै सञ्चालकको पद रिक्त हुन आए अर्को वार्षिक साधारणसभा नभएसम्म सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिने भएतापनि बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरी सोही वार्षिक साधारण सभाबाट अनुमोदन मात्र गराई नियुक्तिलाई निरन्तरता दिएको।
–बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए पनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफू अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएको हुँदा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) को पालना नभएको देखिएको। साथै, निजलाई सञ्चालक पदबाट हटाउन उक्त बैंकको संचालक समितिलाई निर्देशन दिइएको।
–स्थलगत निरीक्षणका क्रममा राष्ट्र बैंकबाट जारी निर्देशनहरूको पालनामा कमजोरी देखिएको तथा निरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियत समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको।
–राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं.२÷०८० को बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनुपात गणना सम्बन्धमा यस बैंकले जारी गरेको क्याापिटल एडुकेसी फ्रेमवर्क, २०१५ को व्यवस्थाअनुरुप प्राथमिक पुँजीबाट घटाउनु पर्ने रकम नघटाएको तथा केही कर्जामा जोखिम भार प्रदान गर्दा उक्त फेर्मवर्कमा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएकोले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिन राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभुका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको ।
हिमालयन बैंक
राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्था पालना नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराइएको।
एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकका सञ्चालक, निजका परिवारका सदस्य एवं सम्बद्घ संस्थालाई प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालक, निजका परिवारका सदस्य एवं सम्बद्ध संस्थाको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकामा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको ब्याज रकम फिर्ता गराइएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाईलाई राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिइएको।
–राष्ट्र बैंकबाट एनआईसी एशिया बैंकको स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना गरेको नपाइएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (ग) अनुरुप एनआईसी एसिया बैंलाई देहायबमोजिमको लिखित आदेश जारी गरिएको छः
–बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य/निर्णय नगर्न तथा नगराउन र यस बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न÷गराउन एवं सुधारको कार्ययोजना बनाई लागू गर्न।
–ब्याजदरसम्बन्धी यस बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ अनुरुप हुने गरी जोखिम भार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन राष्ट्र बैंकलाई नियमित उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागू गर्न।
–कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी व्यवस्था राष्ट्र बैंकको निर्देशनअनुरुप हुने गरी गर्न तथा राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनको पूर्ण रुपमा पालना गर्न/गराउन तथा सुधार कार्ययोजना बनाई लागू गर्न।