काठमाडौं। भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा ९० प्रतिशत विद्युतीय सवारी साधन(ईभी) लन्च भएका छन्। जनवरी १७ देखि भारतमण्डपमा सुरु भएको अटो एक्स्पो २०२५ मा ९० प्रतिशत ईभी सार्वजनिक भएका हुन्। सवारीसाधनको कुम्भ मेला मानिने अटो एक्स्पोमा विभिन्न ब्रान्डका दुईपांग्रे र चारपांग्रे ईभीको वर्चस्व देखिएको छ।
विगतमा आईसी इन्जिन गाडी मात्र उत्पादन गर्दै आएका घरेलु ब्रान्डले यो वर्षको अटो एक्स्पोमा ईभी उत्पादनमा जोड दिएका छन्। नेपाली बजारमा ८० प्रतिशत ईभी आयात तथा बिक्री हुँदै आए पनि छिमेकी भारतमा अटो निर्माता कम्पनीले ईभीमा खासै लगानी गरेका थिएनन्। तर, यस वर्षको अटो एक्स्पोमा परम्परागत इन्जिन गाडी निर्माण गर्दै आएका अधिकांश कम्पनीहरूले ईभी गाडी उत्पादनमा जोड दिएका छन्।
भारतमण्डपममा जारी अटो एक्स्पोमा मारुती सुजुकी ई भीटारा, हुन्डाई क्रेटा ईभी, किया ईभी६, टोयोटा अर्वन क्रुुजर, महेन्द्राको बिई६, एक्सईभी ९ई लगायतका नयाँ मोडलका ईभी गाडी सार्वजनिक गरेका छन्। सार्वजनिक भएका कार सबै प्रिमियम सेग्मेन्टका हुन्। अटो एक्स्पोमा सार्वजनिक भएकामध्ये ९० प्रतिशत गाडी ईभी छन्। यसमा धेरै एसयूभी छन्।
परम्परागत आइसिई इन्जिन गाडी उत्पादन गर्दै आएका अटो निर्माता कम्पनीले चारपांग्रे सवारीसाधनमा अधिकांश ईभी सार्वजनिक गरेका छन्। भारतीय अटो बजारमा आइसिई इन्जिन सेग्मेन्टमा कब्जा जमाएर बसेको मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई भिटारा लन्च गरेको छ। भारतीय अटो बजारमा यो ईभी निर्माणको टर्निङ प्वाइन्ट हो।
अटो एक्स्पोमा विदेशी कम्पनी सहभागी
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा कम्पनीले दिगो यातायाततर्फ उद्योगको परिवर्तनलाई जोड दिँदै विद्युतीय सवारीसाधन आविष्कारको रोमाञ्चक प्रदर्शन गरिरहेका छन्। भियतनामी कम्पनी भीनफास्टले एक्स्पोमा भीएफ ७ र भीएफ ३, भीएफ ९ मोडल लन्च गरी भारतीय बजारमा महत्त्वपूर्ण प्रभाव पारेको छ। भीनफास्टले देखाएको यी मोडलले विद्युतीय बजारमा निकै आकर्षण गरेको छ।
यसैबीच बिवाईडी इन्डियाले विद्युतीय सिलायन ७ एसयूभी प्रदर्शन गरको छ। कम्पनीले नयाँ बुकिङ अफर घोषणा गरी आफ्नो उपस्थितिलाई थप बलियो बनाएको छ।
दुईपांग्रे ईभीको बजार बढ्दै
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा चारपांग्रे सवारीसाधनका साथै दुईपांग्रे ईभीको बजार बढ्दै गएको छ। दुईपांग्रेको बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएका कम्पनीदेखि नयाँ ब्रान्डले समेत आकर्षक र उत्कृष्ट फिचरसहितको सवारी प्रदर्शनमा राखेका छन्। होन्डा, एथर, न्युमेरोस मोटर्स, रिभर इन्डेड, ओला, सुजुकी ई एक्सेसलगायतका ब्रान्डले नयाँ मोडलका दुईपांग्रे ईभी सार्वजनिक गरेका छन्।
होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले आफ्नो पहिलो ईभी स्कुटर एक्टिभा ई र क्युसी १ सार्वजनिक गरेको छ।