काठमाडौं। केरुङ नाकाबाट ना६ख ३५९७ नम्बरको मालवाहक गाडीमा फल्स बटन बनाएर अवैध रुपमा काठमाडौं लैजाँदै गर्दा लुटिएको सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले १९ करोड बिगो माग र घटनामा संलग्न पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ।
गत मंसिर २ गते केरुङबाट अवैध सुन ल्याउँदा बाटोमै लुटिएपछि तस्कर समूहले ट्रक चालकलाई अपहरण गरेको थियो। चालक छुटेपछि उनले सो घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
विभागले सुन तस्करीमा संलग्न पाँच जना सँग १९ करोड ४ लाख ५५ हजार बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार अवैध सुन ओसारपसार गरी राजस्व छलीमा संलग्न भएको पाइएपछि रसुवाका रामकृष्ण बाइवा, बुद्धिबहादुर तामाङ, सुनील तामाङ, निमा डिन्डुप तामाङ र कमल घलेउपर जनही ३ करोड ८० लाख र कुल १९ करोड ४ लाख ५५ हजार बिगो दाबी गर्दै अभियोगपत्र दायर गरिएको हो।
सुनको अवैध कारोबारी उनीहरुले ना६ख ३५९७ को मालवाहक गाडीमा चीनको केरुङ नाकाबाट ३ केजी सुन अवैध रुपमा काठमाडौं ल्याएर चोरी पैठारी गरेको विभागले जनाएको छ।
प्रहरीले चालकले दिएको हुलियाका आधारमा वाइवा, तामाङ, सुनील, निमा र घलेलाई पक्राउ गरी राजस्व अनुसन्धान विभागलाई बुझएको थियो।