काठमाडौं। छटौ शताब्दीमा निर्माण भएको ब्रह्मा मन्दिरको पुन:निर्माण सुरु भएको छ। पुन:निर्माणका लागि आज उक्त मन्दिरको शिलान्याससमेत गरिएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ स्थित जय बागेश्वरी, गायत्री मार्गमा मन्दिर उत्खनन भएको स्थानमा वडाध्यक्ष आशामान संगतले शिलान्यास गरेका हुन्।
वडाध्यक्ष संगतका अनुसार यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो। यसस्थानमा झाडी मात्र थियो। पुरातत्व विभागको सहयोगमा उत्खननपश्चात् यसको प्राचीनताको अध्ययन गरिएको थियो। यसबाट मन्दिर छैटौ शताब्दीदेखि सातौं शताब्दीकोबीचमा निर्माण भएको अनुमान गरिएको छ।
‘मन्दिरको बनावट र प्रकृतिसम्बन्धी दस्ताबेज नपाइएपछि हामीले जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविद्हरुबाट मन्दिरको रेखाङ्कन गराएका हौं,’ संगतले भने।
मन्दिरको मूर्ति वर्षौंदेखि गौशाला प्रहरी कार्यालयमा रहेकोले प्रहरी कार्यालयबाट मन्दिरमा सार्न हतार भइसकेको उनले बताए। सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट मन्दिरको पुनःनिर्माण हुँदैछ।
यसको लागत करिब १ करोड १५ लाख रुपैयाँ रहेको छ। आगामी वर्षको साउन २६ भित्र पुनःनिर्माण सम्पन्न गर्ने गरी कामको जिम्मा दिइएको छ। माटो, इटा र काठको प्रयोगबाट निर्माण हुने मन्दिर दुई तलाको प्यागोडा शैलीको हुनेछ। मन्दिरमा शीरमा गजुर राखिनेछ।
निर्माण कार्य गर्दा वडासँगै महानगरपालिकाको सम्पदा तथा पर्यटन विभाग, पशुपति क्षेत्र विकास कोष, पुरातत्व विभाग, स्थानीय समुदाय, संघसंस्थाहरुसँग समन्वय गरिनेछ।