काठमाडौं। बैंकहरूको निष्कृय कर्जा (एनपिएल) ७ प्रतिशतको हाराहारीमा पुगेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये केही बैंकको एनपिएल चालु वर्षको दोस्रो त्रैमासमा ५ प्रतिशतमाथि ७ प्रतिशत नजिक पुगेको हो।
चालु वर्षको दोस्रो त्रैमासमा कुमारी बैंकको ६.९६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.९६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.६७ प्रतिशत र प्रभु बैंकको ५.०६ प्रतिशत एनपिएल कायम भएको हो। ११ वाणिज्य बैंकको एनपिएल ४ प्रतिशतमाथि ४.९९ प्रतिशतसम्म कायम छ। साथै, उक्त अवधिमा ४ वटाले १ प्रतिशतमाथि ४ प्रतिशतसम्म एनपिएल कायम गर्दा एभरेष्ट बैंकको मात्रै एक प्रतिशत कम एनपिएल छ।
चालु वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकहरूले सार्वजनिक गरिसकेका छन्। उक्त अवधिमा वाणिज्य बैंकको औसत एनपिएल ४.४९ प्रतिशत कायम भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १.१० प्रतिशत विन्दु धेरै हो। गत वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकको एनपिएल औसत ३.३९ प्रतिशत कायम थियो।
एक वर्षको अवधिमा एभरेष्ट बैंकबाहेक सबै बैंकको एनपिएल ०.०३ प्रतिशत विन्दुदेखि १.९९ प्रतिशत विन्दुसम्मले बढेको छ। एभरेष्ट बैंकले भने गत वर्षको दोस्रो त्रैमासमा कायम ०.७७ प्रतिशत एनपिएललाई ०.११ प्रतिशत विन्दुले घटाएर ०.६६ प्रतिशत कायम गर्न सफल भएको हो।
उक्त अवधिमा सबैभन्दा बढी एनपिएल वृद्धि एनआईसी एसिया बैंकको र सबैभन्दा कम हिमालयन बैंकको वृद्धि भएको छ। एनआएसी एशियाको गत वर्षको पुस मसान्तमा कायम एनपिएलमा ३.४२ प्रतिशत विन्दुले थप भएर चालु वर्षको सोही अवधिमा ४.६१ प्रतिशत कायम भएको हो।
एक वर्षको अवधिमा १ प्रतिशत विन्दु धेरै एनपिएल थप हुनेमा कुमारी बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंक छन्।