काठमाडौं। चालु आर्थिक वर्षको ६ महिना अवधिमा दुई पांग्रे सवारीसाधनको आयात झण्डै दोब्बरले बढेको छ। गत आर्थिक वर्षमा घट्दै गएको दुई पांग्रे सवारीसाधनको आयात यस वर्ष दोब्बर हाराहारीले बढेको हो। गत आर्थिक वर्षको तुलनामा यस वर्ष दुई पांग्रे सवारीसाधन ३९.६ प्रतिशतले वृद्धि भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (साउनदेखि पौष)सम्ममा १ लाख १० हजार २७५ युनिट दुई पांग्रे सवारीसाधन नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ६६ हजार ५०९ युनिट भित्रिएको थियो। गत आर्थिक वर्षको तुलनामा यस वर्ष भित्रिएको सवारीसाधनको संख्या ४३ हजार ७६६ युनिट बढी हो।
दुई पांग्रे सवारीसाधनको उद्योग २०२०/२०२१ मा एकदमै ह्वातै बढेर त्यसपछि २०२२/२०२३ मा एकदमै घट्दो क्रमममा थियो। त्यो बेला एकदमै धेरै घट्दै गएको युनिटबाट अहिले विस्तारै माथि उठ्दै गएकाले ट्रायम्फ बाइकका म्यानेजर सागर थापा बताउँछन्।
‘अहिले दुई पांग्रे सवारीसाधनको आयात बढेको देखिएको छ। ग्राहकहरू विस्तारै पुरानो मोटरसाइकल तथा स्कुटर अपग्रेड गर्ने क्रममा छन्,’ म्यानेजर थापा भन्छन्, ‘२०२०/२०२१ मा जुन हिसाबले दुई पांग्रे सवारीसाधनको आयात बढेको थियो। त्यसपछि फेरि घट्यो। अहिले मोटरसाइकल खरिदबिक्री गर्ने ग्राहकहरु विस्तारै अपग्रेड हुन र एक्सचेञ्ज गन खोजिरहेका छन्। त्यही भएर पनि अहिले आयात बढेको देखिएको हो।’
विगतका दिनमा हामी आर्थिक मन्दीमा थियौं। ब्याजदर पनि १८/१९ प्रतिशतसम्म पुगेको थियो। फिक्स डिपोजिट (एफडी)मा पनि राम्रो ब्याजदर पाइरहेका थिए। मानिसले खर्च गर्न खोजिरहेका थिएनन्। अहिले एफडिमा पनि ४/५ प्रतिशत बढी ब्याज नदिने अवस्था छ। त्यसैले रकम बैंकमा बचत गरेर राख्नुभन्दा खर्च गर्नतर्फ मानिस आकर्षित भएका छन्। त्यही भएर बाइक-मोबाइल किन्ने गरेका छन्।
लुयान विद्युतीय स्कुटरका बजार प्रमुख शंकर शर्मा पहिलाको तुलनामा पछिल्लो समय अफर तथा छुट योजना दिएकाले पनि दुई पांग्रेतर्फ आकर्षण बढेको बताउँछन्। ‘पछिल्लो समय सबैजसो ब्रान्डले सवारी खरिदमा विभिन्न किसिमका छुट योजना ल्याउने गरेका छन्। तर, पहिला-पहिला यस्तो योजना निकै कम आउने गर्दथ्यो,’ शर्मा भन्छन्, ‘यस कारणले गर्दा पनि दुई पांग्रेको आयात तथा खरिदबिक्री बढेको हो।’
चार पांग्रे सवारीसाधनको आयात
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ५ हजार बढी विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको तुलनामा यस वर्ष नेपाल भित्रिएका चार पांग्रे विद्युतीय सवारीसाधन ३७३ युनिट बढी हो।
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (साउनदेखि पौष)सम्ममा ५ हजार ४८० युनिट विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कार जीप र भ्यान गरी कुल १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएका छन्। उक्त आयातबाट सरकारले ८ अर्ब १६ करोड २३ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा १२ अर्ब ७३ करोड रुपैयाँ बराबरको ५ हजार १०७ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका थिए। उक्त आयातबाट सरकारले ५ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
नेपालमा भित्रिएका चार पांग्रे विद्युतीय सवारीसाधनमा सबैभन्दा धेरै ५० देखि १०० किलोवाट गाडी छन्। ६ महिनाको समयवधिमा ५१ किलोवाटदेखि १०० किलोवाटको ३ हजार १९१ युनिट गाडी आयात भएका हुन्। ५० किलोवाटसम्मको १ हजार ७ युनिट भित्रिएका छन्। यस्तै, १०१ देखि २०० किलोवाटसम्म ५५३ युनिट आयात भएका छन् भने २०० देखि माथि ११ युनिट आयात भएका छन्।