काठमाडौं। माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार कार्यालय जेडीए कम्प्लेक्स बागदरबारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।
नेपाल रेडक्रस सोसाइटी शाखा भृकुटीमण्डपसँगको सहकार्य तथा काठमाडौं महानगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरेको क्यापिटलले जनाएको छ।
कार्यक्रममा जम्मा ५४ जनाले रक्तदान गरेका छन्। रगतको अभाव र विभिन्न आपतकालीन अवस्थामा यसको महत्वलाई ध्यानमा राख्दै रक्तदान जस्तो सामाजिक कार्य गरि समाजप्रतिको दायित्व निर्वाह गरेको कम्पनीको भनाइ छ।
आफ्नो स्थापनाको पाँचौं वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान लगायत वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुट लगायतका कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो। पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ।