काठमाडौं। चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ। यो लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादनहरु फेरि सुरु गरेको छ।
अब यो वर्ष नेटाले अन्तर्राष्ट्रिय बजारलाई मुख्य केन्द्रमा राख्ने र बिक्री दरलाई दोब्बर पार्ने लक्ष्यसमेत लिएको छ। हाल नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो। चाइना ईभी डाटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१,५९२ युनिट बिक्री गरेको थियो, जसमा ४०.२ प्रतिशतले वार्षिक गिरावट देखिएको थियो।
यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन्। डून्यूजको रिपोर्ट अनुसार अहिले नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ। राज्य-स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक सिएटिएलले यो लगानीमा सहभागिता जनाएको छ।
२०२३ को जनवरीमा, नेटा सिएटिएलको बेडरक च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो। नेटाको एल क्रसोभर सिएटिएलको फ्रिभोय ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडेलहरू मध्ये एक हो।
यसले नेटा र सिएटिएलबीच लामो साझेदारी रहेको देखाउँछ। कम्पनीका एक कर्मचारीका अनुसार कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ। अटोमोबाइल उत्पादन र बिक्रीपछिका पार्ट्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित छ। हाल नेटाले चीनभित्र डिलरशिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ।
२०२५ जनवरी १७ मा, नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो। २०२५ मा, कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ। गत वर्ष, नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३०,००० युनिट गाडी बेचेको थियो।
अहिलेको लक्ष्य भनेको ६०,००० युनिट बिक्री रहेको कप्पनीले जनाएको छ। नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना साझा गरेको थियो। घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ। हाल नेटाले दक्षिणपूर्व एशिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल विस्तार गरेको छ।