काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल र अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चर्स एशोसिएशनबीच चार बुँदे त्रिपक्षीय सम्झौता भएको छ।
आइतबार भएको उक्त सम्झौतामा एनएडीएका तर्फबाट अध्यक्ष करण चौधरी, एएसडीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अरिमदम लाहिरी र एसीएमएका तर्फबाट महानिर्देशक भिनी मेहताले हस्ताक्षर गरेका हुन्।
सम्झौताले तीनवटै संस्थाबीच सहकार्यात्मक साझेदारीको खाका तयार गरेको छ। जसअनुसार नेपालको अटोमोटिभ म्यानुफ्याक्चरिङ र डिलरशीप क्षेत्रमा सीप विकासलाई बढावा दिन नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न प्रशिक्षकहरु, मूल्यांकनकर्ताहरु र नाडाका व्यवसायीहरुलाई तालिमका कार्यक्रमहरु सञ्चालन गरिले उल्लेख छ।
यस्तै अटोमोटिभ उद्योग जसले व्यापक रुपमा अगाडि र पछाडीको लिंकेजको कारण, प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको एक महत्वपूर्ण जेनरेटरको रूपमा कार्य गर्ने गरेको छ यसको विकासलाई टेवा पुर्याउन, गुणस्तर र तालिम क्षमताहरूको दूरीलाई सम्बोधन तथा यसको वृद्धिका लागि गुणस्तरीय तालिम क्षमताहरु उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
साथै तीनै पक्षहरुले नेपालको अटोमोटिभ क्षेत्रको मागहरु पूरा गर्न तालिमका लागि पूर्वाधारलाई सुदृढ गर्न, शीप विकासका तालिमकर्ताहरु र मूल्यांकनकर्ताहरूको विकास गरिने भएको छ। सम्झौताको चौथो बुँदामा भारतको अटोमोटिभ क्षेत्रको लागि सीप विकास परिषद्को रूपमा, पाठ्यक्रम विकास, तालिम डेलिबरी र मूल्यांकन मेकानिजममा विशेषज्ञता हासिल गरेको एएसडीसीले एसीएमएसँग मिलेर नेपाली अटोमोटिभ क्षेत्रलाई फाइदा पुर्याउन काम गर्ने उल्लेख छ।
उक्त सम्झौताले नेपाल र भारतकाबीचमा नेपालको अटोमोबाइल क्षेत्रको सीप विकासको लागि कोशेढुङ्गा सावित हुने एनएडीएले विश्वास लिएको छ। यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भइरहेको भारत मोविलिटी अन्तर्गत भइरहेको अटो प्रदर्शनीको सन्दर्भमा एनएडीएका अध्यक्ष करण चौधरीको नेतृत्वमा एनएडीए केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको प्रतिनिधिमण्डल भारत भ्रमणमा रहेको छ।
सो हस्ताक्षर समारोहमा एएसडीसीकातर्फबाट अध्यक्ष एफआर सिङ्गभी, उपाध्यक्ष भिन्केश गुलाटी, प्रोजेक्ट कोओर्डिनेटर नितिशकुमार चौरसियासमेतको उपस्थिति रहेको थियो। त्यसैगरी एसीएमएकातर्फबाट अध्यक्ष श्रद्धासुरी मारवाह, उपाध्यक्षद्धय विक्रमपती सिंघानिया र रितुन्च गुप्ता पनि थिए। त्यस्तै एनएडीएकातर्फबाट निवर्तमान अध्यक्ष डा ध्रुव थापा, वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेतीलगायत थिए।