काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ सिस्टममा अराजक गतिविधिहरु भइरहेको बताएका छन्।
सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अधिकारीले बैंकिङ सिस्टममा भइरहेका अराजक गतिविधिबारे सरोकारवालासँग छलफल भइरहेको जानकारी गराए।
वर्तमान समयमा बैंकिङ क्षेत्रमा आएको अराजकताले दीर्घकालीन रुपमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वाससमेत दिलाए।
उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरुको असर पनि धेरै ठाउँमा छ। यस्ता चुनौतीहरु भए पनि बैंकका साथिहरु खट्नु भएको छ। हामीले पनि निरन्तर रुपमा सम्बन्धित निकायहरुमा बैंकिङ् सिस्टममा यो अराजकताको असर कति ठूलो छ। दीर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौं। र यस विषयमा सरोकारवालाहरुसँग छलफल भइरहेको छ। यस्ता विषयहरु सधैं रहदैनन्। समाधान हुँदै जान्छन्।’
यसका साथै, पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुँदै गएको दाबी गरे। उनले भने, ‘समग्र रुपमा अर्थतन्त्रका आधारभूत कुराहरु एकदमै राम्रो देखिन्छन्। हामी बाह्य क्षेत्रमा सबल छौं। मुद्रास्फीति पनि धेरै हदसम्म बढेको छ। पछिल्लो महिना बाढी पहिरोको कारण असर परेको हो। जसका कारण खाद्य र पेय पदार्थतिरको मुद्रास्फीति बढेको छ। तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ। बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन्। बैंकहरु नाफा र रिकभर हुँदैछ।’
उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरु आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुदा निरुत्साहित नहुन पनि आग्रह गरेका छन्।