काठमाडाैं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था बलियो भए मात्रै नागरिकको विश्वास जित्न सकिने बताएका छन्। त्यसका लागि बैंकले तोकिएका उद्देश्य पूरा गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको सुझाव छ।
आज कृषि विकास बैंकको ५८औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
सरकारी स्वामित्वको बैंकले क्षमता विकास, सामथ्र्य विकास र प्रतिष्ठालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको धारणा छ। अर्थमन्त्री पौडेलले बैंक सबल र प्रभावकारी भए मात्रै कर्मचारीको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्न सकिने दाबी गरे।
‘अहिले बैंक व्यवस्थापन र कर्मचारीबीचमा जहाँ जीवन्त सम्बन्ध हुन्छ, जहाँ राम्रो सम्बन्ध हुन्छ, त्यस्तो बैंकले प्रगति गर्ने सम्भावना ज्यादा हुन्छ। म साथीहरुलाई आग्रह गर्न चाहन्छु, बैंकमा गठन भएका ट्रेड युनियनका साथीलाई पनि आग्रह गर्न चाहन्छु, सबैभन्दा पहिलो प्राथमिकता बैंकको क्षमता, बैंकको सामर्थ्य, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाउनुपर्दछ’, उनले भने।
बैंक सबल , प्रभावकारी भए मात्रै नागरिकको विश्वास र संस्थाको इज्जत धानिने अर्थमन्त्रीको पौडेलको भनाइ छ।
व्यवस्थापन र कर्मचारीबीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाले अपेक्षित प्रगति गर्न नसकेको र बैंकको निक्षेप अनुपात चिन्ताको विषय रहेको अर्थमन्त्री पौडेलले जिकिर गरे।