काठमाडौं। वाणिज्य बैंकले सेयरधनीलाई औसत झण्डै साढे ११ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूले आर्जित नाफाबाट सेयरधनीलाई औसत ११.४१ प्रतिशत लाभांश दिने क्षमता राखेका हुन्।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सबै वाणिज्य बैंकले प्रकाशित गरिसकेका छन्। उक्त अवधिमा ७ वाणिज्य बैंकको वितरण योग्य नाफा नकारात्मक छ। सकारात्मक रहेका १३ वटाले कुल १६ अर्ब ३९ करोड रुपैयाँ वितरण योग्य नाफा कमाएका छन्। वितरण योग्य नाफा नै नकारात्मक हुँदा ती वाणिज्य बैंकको लाभांश क्षमतासमेत नकारात्मक भएको हो।
चालु वर्षको दोस्रो त्रैमासमा कुमारी, हिमालयन, प्रभु राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एशिया, सिद्धार्थ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरण योग्य नाफा २ अर्बदेखि साढे ६ अर्ब रुपैयाँसम्म नकारात्मक छ।
गत वर्षको सोही अवधिमा ११ वटा वाणिज्य बैंकको वितरण योग्य नाफा नकारात्मक थियो। गत वर्ष नकारात्मक रहेका ६ वटा बैंकले चालु वर्षमा राम्रो प्रगति गरी वितरण योग्य नाफा सकारात्मक बनाउँदै लगानीकर्तालाई लाभांश वितरणको क्षमता बनाउँदा २ वटा यस्तो सूचीमा थप भएका छन्।
गत वर्ष वितरण योग्य नाफा नकारात्मक भएर पनि चालु वर्ष सकारात्मक हुनेमा ग्लोबल आइएमई, सिटिजन्स, माछापुच्छ्रे, नेपाल बैंक, लक्ष्मी सनराइज र एनएमबी बैंक हुन्। गत वर्ष वितरण योग्य नाफा सकारात्मक भए पनि चालु वर्षमा नकारात्मक बनाउनेमा राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंक हुन्।
लाभांश क्षमतामा एभरेष्ट अग्रस्थानमा
गत वर्षको दोस्रो त्रैमासिकमा आर्जित नाफाबाट ९ वटा वाणिज्य बैंकले मात्रै औसतमा १४.७६ प्रतिशत लाभांश वितरण क्षमता राखेका थिए। चालु वर्षको सोही अवधिमा ११ वाणिज्य बैंकले औसतमा ११.४१ प्रतिशत लाभांश क्षमता राखेका छन्। जसमध्ये एभरेष्ट बैंकले सर्वाधिक क्षमता ३०.५८ प्रतिशत राख्दा माछापुच्छ्रे बैंकले ०.१६ प्रतिशत लाभांश क्षमता राखेको छ।
उक्त अवधिमा स्ट्याडर्ड चार्टर्डको २३.५५ प्रतिशत, सानिमाको १९.१४ प्रतिशत, प्राइमको १४.९८ प्रतिशत, ग्लोबल आइएमईको १२.२५ प्रतिशत र एनएमबी बैंकको १०.२५ प्रतिशत लाभांश क्षमता रहेको छ।
साथै, उक्त अवधीमा आर्जित नाफाबाट कृषि विकास बैंकले ९.७२ प्रतिशत, नविलले ९.३८ प्रतिशत, नेपाल बैंकले ८.२६ प्रतिशत, नेपाल एसबिआईले ६.०२ प्रतिशत, सिटिजन्सले २.३५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १.५१ प्रतिशत लाभांश वितरण क्षमता राखेको छ।