काठमाडौं। वाणिज्य बैंकहरुले २७ अर्ब बढी खुद नाफा कमाएका छन्। चालू वर्षको दोस्रो त्रैमामा २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएका हुन्।
बैंकद्वारा सार्वजनिक चालू वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार एक वर्षमा वाणिज्य बैंकहरुको खुद नाफा भने ५ प्रतिशतले घटेको छ।
गत वर्षको सोही अवधिमा वाणिज्य बैंकले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। एक वर्षको अवधिमा ९ वाणिज्य बैंकको खुद नाफा ४ प्रतिशतदेखि ९२.०३ प्रतिशतसम्मले घटेको छ भने, ११ वटा ०.२४ प्रतिशतदेखि ८५.४९ प्रतिशतसम्म खुद नाफा वृद्धि गरेका छन्।
चालू वर्षको दोस्रो त्रैमासमा परिमाणको आधारमा भने सबैभन्दा नाफा नबिल बैंकले ३ अर्ब ३४ करोड र सबैभन्दा कम एनआइसी एसिया बैंकले १५ करोड रुपैयाँ कमाएको हो।
उक्त अवधिमा ११ वटा बैंकको खुद नाफा १ अर्बमाथि छ भने ९ वटाको १ अर्बभन्दा कम छ। चालू वर्षको दोस्रो त्रैमासमा अर्ब बढी नाफा कमाएर ‘अर्ब क्लब’मा रहनेमा नबिल, ग्लोबल, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, एनएमबी, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, हिमालयन, प्रभु, सानिमा र लक्ष्मी सनराइज बैंक छन्। यीमध्ये प्रभु बैंबाहेक सबै गत वर्ष पनि अर्ब क्लबमा थिए तर, प्रभु बैंकले एक वर्षमा नाफामा ८५.४९ प्रतिशतले ‘छलाङ’ मारेर अर्ब क्लबमा प्रवेश पाएको हो।
गत वर्षको दोस्रो त्रैमासमा अर्बको क्लबमा भएका राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र एनआइसी एशिया बैंक भने चालु वर्ष अर्ब क्लबमा पर्न सकेनन्।