इलाम। सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो। उनले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किए।
‘‘१५ लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना–ठूला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास हजारभन्दा बढी इँटा प्रयोग भइसकेको छ।’ उद्योगमा सात जनाले रोजगारी समेत पाएका छन्।
महिनामा सात हजार इँटा उत्पादन हुन्छ। एक हजार मौज्दात राखेर सबै बिक्री गर्ने गरिएको उद्यमी सापकोटाले बताए। ‘नगरपालिकाले नै इँटाको प्रतिगोटा मूल्य ५२ रुपैयाँ निर्धारण गरिदिएको छ’, उनले भने, ‘कच्चापदार्थ महँगो छ। सबै खर्च कटाएर १७ प्रतिशत नाफा हुन्छ। महिनामा त्यस्तै एक लाख जति बचत छ।’
ढुंगाको धुलो, धोएको खस्रो बालुवा, ५३ ग्रेटको ओपिसी सिमेन्ट, सुपर प्लास्टिक साइजरलगायतका कच्चापदार्थ प्रशोधन गरेर ईको इँटा तयार गरिने प्रमोदले बताए। उनले भने, ‘यी सामग्री काठमार्डौको दाउन्ने, झापाको बिर्तामोड र सुपर प्लास्टिक साइजर उडिसाबाट ल्याउने गरिएको छ।’
उद्योगको उत्पादनले इँटाको माघ धान्न सकेको छैन। सूर्योदय नगरपालिका क्षेत्रमा नै धेरै माघ हुने गरेकाले जिल्लाका अन्य पालिकातिर माघ पूरा गर्न नसकिएको स्वस्तिका सापकोटा भट्टराईले बताइन्। ईको इँटा भूकम्प प्रतिरोधी र वातावरणमैत्री हुने भएकाले यसको माघ बढिरहेको उनको भनाइ छ।
उनले भने, ‘पालिकाले निर्माण गर्ने भवनमा हरित निर्माण सामग्री प्रयोग गर्ने भनिएकोे छ । त्यस्मा हाम्रो उत्पादन प्रयोग गर्नेगरि छलफल चलेको छ । त्यो सम्झौता भएमा उद्योगले उत्पादन अनिवार्य वृद्धि गर्नुपर्छ।’ सापकोटा दम्पतीलाई घर–गाउँ छाडेर विदेशिन मन छैन।
कोरोना कहरका बेला निजी तथा सरकारी निर्माण प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका थिए । प्रमोदसँग पनि कोभिड–१९ का बेला उद्योग बन्द गर्नुपरेको स्मरण गर्छन्, उनी।
स्थानीय तहमै स्वरोजगार भइरहेका युवा उद्यमीलाई नगरपालिकाले प्रोत्साहन गर्ने गरेको नगरप्रमुख रणबहादुर राईले बताए।–रासस