हेटौंडा। आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिने अवधिमा तीन अर्ब १९ करोड ६ लाख राजस्व संकलन गरेको छ। यो लक्ष्यको ८० दशमलव २९ प्रतिशत संकलन भएको हो।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालू आव २०८१/८२ को ६ महिनाको अवधिमा तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व संकलन भएको छ।
साउनदेखि पुससम्मको अवधिमा अन्तःशुल्कतर्फ एक अर्ब ८३ करोड ९३ लाख १८, आयकरतर्फ ५६ करोड ८१ लाख १५ हजार, मूल्य अभिवृद्धि करतर्फ ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ ३० करोड ३५ लाख ७५ हजार, ब्याजकरतर्फ चार करोड ४३ लाख ८८ हजार र बहालकरतर्फ ९२ लाख ४२ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए।
यो अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को सो अवधिको तुलनामा २८ करोड भन्दा बढी राजस्व संकलन भएको हो। अघिल्लो आव २०८०÷८१ को सो अवधिमा रु चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत अर्थात् दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व सङ्कलन भएको थियो।
प्रमुख सुवेदीका अनुसार चालू आव २०८१÷८२ मा रु आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ। कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्यअभिवृद्धि तर्फ पाँच हजार आठ सय ४९, अन्तःशुल्कतर्फ एक हजार पाँच सय ९८, विथहोल्ड तर्फ सात सय ११ र व्यक्तिगततर्फका ८१ हजार आठ सय १२ करदाता रहेका छन्।
पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारणले अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा चालू आवको सो अवधिमा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ।