काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । हालसम्म ८ ओटा बैंकहरु नेपाल बैंक, एनआइसी एसिया बैंक, सनराइज बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंकले बित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।
विवरण अनुसार यी बैंकहरुमध्मे ५ ओटा बैंकले आफ्नो खराब कर्जा घटाएका छन् । तर, एनआइसी एसिया बैंक, सनराइज र सानिमा बैंकको खराब कर्जा भने बढेको देखाएको छ । लामो समयसम्म नउठेका कर्जा उठाउन सफल भएपछि अधिकांश वाणिज्य बैंकहरुको खराव कर्जा घटेको हो ।
के हो खराब कर्जा ?
बैंक तथा वित्तीय सस्थाबाट लिएको ऋण तोकिए समयावधि भित्र भुक्तानी नगरे ऋणीलाई बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकले व्यवस्था छ । राष्ट्र बैंकले तीन महिनासम्म भाखा नाघेको कर्जालाई असल कर्जा नै मान्ने गरेको छ ।
तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल मानिन्छ । छ महिनादेखि एक वर्षसम्म भाखा नाघेकोलाई शंकास्पद तथा एक वर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाको रुपमा गणना गरिन्छ ।
एक वर्ष भाखा नाघेका कर्जालाई बैंक तथा वित्तीय संस्थाले रकम व्यवस्था (प्रोभिजन) गर्नुपर्ने प्रावधान छ ।