काठमाडौं । टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई उपत्यकामा लथालिङ्ग रहेको तार भुमिगत गर्न मोडालिटि बनाएर पेस गरेको छ । प्राधिकरणका अनुसार गत आइतबार सो मोडालिटि प्राधिकरणमा पेस गरेको हो । प्राधिकरणले नेपाल टेलिकमलाई पहिलो चरणमा उपत्यकाका १५ रुटमा तार भुमिगत गर्ने जिम्मा विना प्रतिस्पर्धा दिएको थियो ।
प्राधिकरणको तार भुमिगत गर्ने जिम्मा दूरसञ्चार ऐन विपरित भएको भन्दै इन्टरनेट सेवाप्रदायकले विरोध जनाएका थिए । पछि प्राधिकरणले लागत, सेयरिङ र विभिन्न प्राविधिक बिषयमा मोडालिटि माग गरेपछि सेवाप्रदायकले सोहि अनुसार प्रकृया अगाडी बढाउँने जनाएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले प्राधिकरणमा कार्यविधि पेस गरेको र अहिले अध्ययनकै क्रममा रहेको बताए । ‘हामिले खोजे अनुसारको मोडालिटि नभएको जानकारी आएको छ, यो प्रक्रियालाई छिटै टुङ्ग्याउने तयारी छ’ ।
इन्टरनेट सेवाप्रदायक अझै अलमलमा
प्राधिकरणले तार भुमिगत गर्ने जिम्मा नेपाल टेलिकमलाई जिम्मा दिएसँगै इन्टरनेट सेवाप्रदाय संघ नेपालले दूरसञ्चार प्राधिकरणलाई एउटा पत्र पठाएको थियो । जुन पत्रमा दूरसञ्चार ऐन विना तार भुमिगत गर्ने जिम्मा दिएको र सेवाप्रदायकको लगानीको बिषयमा पनि विचार पुर्याउन आग्रह गरिएको थियो ।
संघका अध्यक्ष भोजराज भट्टले प्राधिकरणले सरोकारबालासँग सल्लाह नगरी, विना प्रतिस्पर्धा टेलिकमलाई तार भुमिगत गर्ने कामको जिम्मा दिएको बताए । ‘नया पुर्वाधार बनाएपछि सेवाप्रदायकले त्यसको प्रयोग गरे बापत शुल्क कति हुने भन्नेबारे टुङ्गो लाग्न जरुरी छ’ उनले भने ।
अहिलेपनि इन्टरनेट सेवाप्रदायक लागत र पूर्वाधार सेयरिङको बिषयमा अन्योलमै छन् । प्राधिकरणका लागि भारतीय कम्पनी केपीएमजीले तार भूमिगत व्यवस्थापनका बारेमा प्रतिवेदन तयार पारेको थियो । उक्त कम्पनीले आवश्यक पूर्वाधार र प्रविधिको अध्ययन गरी तयार पारेको मापदण्डकै आधारमा टेलिकमले जिम्मा पाएको प्राधिकरणले बताएको छ ।
पूर्वाधार कम्पनी खोल्ने तयारी
टेलिकमले प्राधिकरणद्वारा तार भुमिगतलगायतका परियोजना ठेक्का पाउँन थालेपछि आफूले तयार गरेका दूरसञ्चार पूर्वाधार अन्य सेवाप्रदायकलाई पनि सहप्रयोग गर्न दिने प्रकृयामा कस्सिएको छ । यसको प्रारम्भिक तयारीमा छुट्टै पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने योजना बनाएको हो ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दूरसञ्चार पूर्वाधारमा बढ्दो दोहोरो लगानी कम गर्ने सरकारी नीतिअनुरूप नै पूर्वाधार कम्पनी खोल्ने र कम्पनी सञ्चालन गर्न प्रबन्धपत्रको मस्यौदा तयार भइरहेकोे बताए । टेलिकमको गत बाह्रौँ वार्षिक साधारण सभामा पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने योजना कार्यान्वयन गराउन यससम्बन्धी विशेष प्रस्ताव समेत प्रस्तुत गरेको थियो ।