काठमाडौं। लामो समयदेखि सेयर बजारमा शुद्धीकरण आवश्यक रहेको विषय उठ्दै आएको छ। खासगरी, कमजोर कम्पनीको सेयर मूल्यमा 'पम्पिङ एन्ड डम्पिङ'को खेल उल्लेख्य मात्रामा बढ्दै गएदेखि बजारमा शुद्धीकरण आवश्यक भएको विषय उठ्दै आएको हो। यहाँ उल्लेख गरिएको शुद्धीकरण शब्द कुनै तेस्रो निकाय वा पक्षले प्रत्यक्ष हस्तक्षप गरेर सुधार गरेको विषय भने होइन। यो त, बजारले बजारलाई शुद्धीकरण गर्ने विषय हो।
अर्थात्, बजार केही गलत प्रवृत्तिमा अगाडि बढिरहेको अवस्थामा कारोबार संरचनाले सुधार ल्याउँदै जानुलाई बजार शुद्धीकरणको रुपमा बुझिन्छ। पछिल्ला केही दिनयता सेयर कारोबारलाई नियालेर हेर्ने हो भने बजारमा शुद्धीकरण उन्मुख छनक देखिन थालेका छन्। वित्तीय सूचक नकारात्मक रहेका लगानीकर्तालाई वर्षौंदेखि प्रतिफल नदिएका र उच्च जोखिमयुक्त कम्पनीबाट लगानीकर्ता विस्तारै बाहिरिन थालेको संकेत देखिएको छ।
निश्चित व्यक्ति वा समूहले सामाजिक सञ्जालमा चर्चा गरेकै भरमा उचालिएका कम्पनीको सेयर खरिदबिक्रीमा लगानीकर्ता सचेत हुन थालेका छन्। अस्वभाविक सेयर मूल्य उतारचढाव भइरहेका फाइनान्स र विकास बैंकबाट लगानीकर्ता अन्य बलिया कम्पनीतर्फ सिफ्ट हुने तयारीमा देखिन्छन्। गत साताको अन्तिम कारोबार दिन बिहीबार (माघ ३)को बजारलाई मात्रै फर्केर हेर्ने हो भने फाइनान्स समूहमा सर्वाधिक अर्थात् ५.१९ प्रतिशतको गिरावट आयो।
लामो समय कमजोर र उच्च जोखिमयुक्त कम्पनीले बजारमा हालीमुहाली जमाएकाले यो प्रवृत्ति सुधार हुनु आवश्यक थियो।
अन्य समूहमा एक प्रतिशत मुनीको घटबढ हुँदा फाइनान्स समूहमा यो किसिमको उच्च गिरावट देखिएको हो। समग्रमा गत साताको चार कारोबार दिनमा फाइनान्स समूहमा १२.९६ प्रतिशत र विकास बैंक समूहमा २ प्रतिशतको गिरावट आयो। सबैभन्दा कम गिरावट देखिएको जलविद्युत् समूहमा ०.१३ प्रतिशत मात्रैको संकुचन आयो। अघिल्लो साता भने जलविद्युत् समूहको सेयर मूल्य सर्वाधिक अर्थात् ५.५७ प्रतिशतले होटल तथा पर्यटन समूह ४.६१ प्रतिशतले र फाइनान्स समूह ४.४७ प्रतिशतले उकालो लागेका थिए।
लामो समय कमजोर र उच्च जोखिमयुक्त कम्पनीले बजारमा हालीमुहाली जमाएकाले यो प्रवृत्ति सुधार हुनु आवश्यक थियो। जसको सामान्य छनक बजारमा देखिएको छ। यद्यपि, यो छनक देखिनुका पछाडि बजारसँग जोडिएका केही महत्वपूर्ण घटनाक्रम छन्। नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेण्ट बैंकलाई ‘समस्या ग्रस्त’ घोषणा गरेसँगै कमजोर कम्पनीमाथि लगानी गर्न नहुने विषय उठ्यो। तथापि, कमजोर कम्पनीको मूल्य उचालेर माथि पुर्याउने र तीव्र गतिमा तल झार्नेक्रम रोकिएन।
तर, पछिल्लो केही समयदेखि राष्ट्र बैंकले केही फाइनान्स विकास बैंकमाथि निगरानी बढाएको विषय आइरहेको छ। केही दिनअघि मात्रै राष्ट्र बैंकको सञ्चालक समितिले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा किन नगर्ने भनेर स्पष्टीकरण सोधेको खबर बाहिरिएको थियो। जानकी फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकलाई पनि केन्द्रीय बैंकले नजिकबाट नियालीरहेको कुरा आइरहेको छ। यस कारण बजारमा देखिएको पछिल्लो प्रवृत्तिमा सुधार आउने किसिमको संकेत देखिएको छ।
सेयर लगानीकर्ता देव गुरागाईं बजार अहिले साइडवेजमा रहेको र शुद्धीकरण पनि खोजिरहेको बताउँछन्। ‘बजार अहिले साइडवेजमा रहेको देखिन्छ। हालको अवस्था हेर्दा बजार तल्लो विन्दुमा हो कि भन्ने आशंका गर्ने ठाउँ पनि छ,’ गुरागाईं भन्छन्, ‘बजार संकुचनमा गए पनि केही समयमा राम्रो लयमा फर्कन सक्ने अवस्था छ। हाल बजारले केही मात्रामा शुद्धीकरण खोजिरहेकाले शुद्धीकरणको छनक आएमा बजार थप करेक्सनमा जानसक्ने सम्भावना छ।’ कारोबार समयमा बजार स्वस्थ नदेखिएकाले यस विषयमा नियामकले वा अन्य निकायले काम गरेर बजार शुद्धीकरण भएर त्यसपछिको बढाई दिगो हुने गुरागाईंको तर्क छ।
खासगरी, लगानीकर्ताको मनोबल कमजोर हुँदा नेप्से र कारोबार खुम्चिँन पुगेको साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी बताउँछन्।
लामो समय २७ सय विन्दुमा घुमेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हाल २६ सय मुनी छ। गत सातामात्रै सेयर बजारमा ४७ अंकको गिरावट आयो। अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् पुस २५ मा २६३५.०९ विन्दुमा रहेको नेप्से चार कारोबारमा एक दिन बढेर तीन दिन घट्दा ४७ अंकको गिरावटका साथ २५८८.६२ विन्दुमा रोकिएको छ। गत साता ४७ अंकले घटे पनि अघिल्लो साता नेप्से ४८ अंकले बढेको थियो। त्यसअघिको साता भने ४४ अंकले घटेको थियो।
यसरी नेप्से एकै विन्दु वरिपरी घुमिरहँदा कारोबार स्थितिमा धेरैको अन्तर देखिँदैन। गत साताको चार कारोबार दिनमा नेप्सेमा कुल २१ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो साता नेप्सेमा कुल २९ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसअघिको साता १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। खासगरी, लगानीकर्ताको मनोबल कमजोर हुँदा नेप्से र कारोबार खुम्चिँन पुगेको साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जिसी बताउँछन्।
‘वित्तीय सूचक हेर्ने हो भने बैंकमा प्रयाप्त तरलता छ। ब्याजदर न्युन विन्दुमा छ। अधिकांश कम्पनीले प्रतिफल घोषणा गरिसकेका छन्। अपेक्षा गरेजति प्रतिफल नदिए पनि केही मात्रामा धेरैले दिएका छन्। यी सबै कुरा हेर्दा बजार अहिले बजार माथिल्लो विन्दुमा रहनुपर्ने हो,’ अध्यक्ष जिसी भन्छन्, ‘तर, पछिल्लो समय लगानीकर्ताको मनोबल विस्तारै कमजोर बन्दै गएको छ। राजनीतिक अस्थिरतका हल्ला चलाईंदा त्यसको असर अन्य निकाय र हुँदै बजारमा पनि परेको छ।’ उनले स्वतन्त्र ढंगमा चल्न दिनुपर्ने बजारमा अनेकन किसिमका अफहवा चलाउने र प्रहार हुने गरेकाले लगानीकर्ताको मनोबल बढ्न नसकेको बताए।
‘लगानीकर्ताको मनोबल कमजोर रहेकाले यथास्थितिमा बजारमाथि नजाने हो कि भन्ने देखिन्छ। अर्कोतर्फ फागुनमा केन्द्रीय बैंकको कार्यकाल सकिएर नयाँ गभर्नर आउनेछन्। यदि, बजारमैत्री गभर्नर आएर सेयर बजारको हितमा काम गरेमा बजार थप राम्रो हुनसक्छ,’ जिसी भन्छन्, ‘अहिले बजारमा दैनिक घटबढ भएको देखिए पनि खास घटबढ भएको छैन। बजार साइडवेजमा नै छ।’ उनले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए।
यद्यपि, सेयर धितो कर्जा प्रवाह बढेर गएको छ भने लामो समय कोमामा रहेको नेपाल धितोपत्र बोर्डबाट केही नीतिगत काम हुन थालेका छन्। लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीले आईपीओ निष्कासन स्वीकृति पाउँदा डिम्याट खाता खोल्नेको संख्या बढेर गएको छ।
यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण कस्तो आउँछ भन्ने विषयले बजार कतातर्फ जाने भन्ने निर्धारण गर्ने देखिन्छ। बजार भोलाटायल स्थितिमा चलिरहेकाले लगानीकर्ता भने सचेत भएर कारोबारमा लाग्दा उचित हुने देखिन्छ।