काठमाडौं। भारत ‘मोबिलिटी ग्लोबल एक्स्पो २०२५’ सुरु भएको छ। अटो एक्स्पो भारतको सबैभन्दा ठूलोे सवारी साधनहरुको मेला हो। नयाँ दिल्लीमा आजदेखि सुरु भएको भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ जनवरी २२ (माघ ९)सम्म सञ्चालन हुनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको अटो एक्सपोमा अधिकांश भारतमा सवारी साधन उत्पादन गर्दै आएका ब्रान्डले नयाँ मोडलका दुई पांग्रे र चार पांग्रे सवारी साधन सार्वजनिक गरेका छन्।
अटो एक्स्पोमा हुण्डाई, मारुती सुजुकी, टोयोटा, टाटा मोटर्स, एमजी मोटर, मर्सिडीज बेञ्ज, किया, बीएमडब्ल्यू, टोयोटा, भिनफास्ट, महिन्द्रा, टिभिएस मोटर्स, सुजुकी, हिरो मोटोकर्पलगायत देशका ठूला ब्रान्डहरू समावेश छन्। अटो एक्स्पो २०२५ मा भियतनामको भिनफास्ट र चीनको बिवाईडी मोटरजस्ता विश्वव्यापी ईभी निर्माताको डेब्यु भएको छ।
हुण्डाई मोटर इन्डियाले हुण्डाई क्रेटा ईभी लञ्च गरेको छ। दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको क्रेटा ईभीको पाँच भेरियन्ट छ। कम्पनीले ४२ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध एजुकेटीभ भेरियन्टको मूल्य १७ लाख ९९ हजार (भारू), स्मार्ट भेरियन्टको १८ लाख ९९ हजार (भारू), स्मार्ट अप्सनलको १९ लाख ४९ हजार ९०० भारू र प्रिमियम भेरियन्टको मूल्य १९ लाख ९९ हजार ९०० भारू निर्धारण गरेको छ। यस्तै, ५१.४ किलोवाट आवरको स्मार्ट अप्सनल भेरियन्टको मूल्य २१ लाख ४९ हजार ९०० र एक्सीलेन्स भेरियन्टको मूल्य २३ लाख ४९ हजार ९०० भारू निर्धारण गरेको छ।
अटो एक्सपो २०२५ मा मारुती सुजुकी इन्डियाले ई भिटाराको कभर अफ गरेको छ। यो भारतीय बजारमा ब्राण्डको पहिलो विद्युतीय एसयूभी हो। यसमा ७ एयरब्याग, लेभल २ एडिएएस जस्ता सुरक्षा सुविधाहरूले भरिएको छ।
बिएमडब्लुले आफ्नो पहिलो मेड इन इन्डिया बिएमडब्लु ईभी कार लञ्च गरेको छ। बिएमडब्लुले एक्स–१ लञ्च गरेको छ। बिएमडब्लुले भारतमा बनाएको यो पहिलो कार हो। बिएमडब्लु एक्स–१ एलडब्लुबी ईभी भारत मोबिलिटी एक्स्पो २०२५ मा ४९ लाख मूल्यमा लञ्च गरेको छ। अटो एक्स्पोमा टाटाले आफ्नो नयाँ उत्पादन सिएरा ईभी, अभिन्या ईभी, ह्यारियर ईभीलगायतका यसयुभीहरु प्रदर्शन गरेको छ।
दुई पांग्रे ब्राण्ड
अटो एक्सपोमा दुई पांग्रे सवारीसाधन ब्राण्ड सुजुकी, होण्डा, हिरो, टिभीएस, यामाहालयातका आफ्नो नयाँ मोडल सार्वजनिक गरेका छन्। अटो एक्स्पो २०२५ मा सुजुकी मोटरसाइकल इण्डियाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर इ–एक्सेस सार्वजनिक गरेको छ। यो स्कुटरमा लिथियम आइरन फस्फेट ब्याट्रीको प्रयोग गरेको छ।
कम्पनीले यस स्कुटरमा ३.०७ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ। यो ब्याट्रीले एक पटकको फुल चार्जमा ९५ किलोमिटरको रेञ्ज दिनेछ। यसमा ४.१ किलोवाटको मोटर जडान गरिएको छ। यसका साथै कम्पनीले सुजुकी जिक्सर एसएफ २० फ्लेक्स फ्युल मोटरसाइकल पनि सार्वजनिक गरेको छ।
यामाहाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्नो एन्ट्री–लेभल एडभेन्चर बाइक, ल्यान्डर २५० प्रदर्शन गरेको छ। यो २५९ सीसीको सिंगल-सिलिन्डर इन्जिनमा आउँछ। जसले २०.५ बीएचपी पावर र २०.६ एनएम पीक टर्क दिन्छ।
अटो एक्स्पो २०२५ मा होण्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर होण्डा एक्टिभा ई लञ्च गरेको छ। कम्पनीले एक्टिभा ईको मूल्य १.१७ लाख भारु निर्धारण गरी सार्वजनिक गरेको हो। एक्टिभा ई दुई ब्याट्री अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
भारत मोबिलिटी एक्स्पो २०२५ मा टिभिएस मोटरले टिभीएस जुपिटर सिएनजी कन्सेप्ट प्रदर्शन गरेको छ। हिरो मोटोकर्पले अटो एक्स्पो २०२५ मा हिरो एक्सट्रिम २५० आर १.७९ लाख, एक्सपल्स २१० १.७५ लाख रुपैयाँ मूल्य निर्धारण गरी सार्वजनिक गरेको छ।