काठमाडौं। युवा व्यवसायी देशबन्धु बस्नेतले काठमाडौंपछि सुनसरीको इटहरीमा अर्को पाँचतारे होटल सञ्चालनमा ल्याउने भएका छन्। काठमाडौंको सुकेधारामा बुधबार मात्र पाँचतारे होटल मक्युर सञ्चालनमा ल्याएका उनले २०८२ को सुरुवात (वैशाख)मा नयाँ होटल रमडा सञ्चालनमा ल्याउन लागेका हुन्।
मक्युर युरोपको विश्वप्रशिद्ध फ्रान्सेली ब्राण्ड हो। यस्तै सुनसरीको इटहरीमा सञ्चालनमा आउन लागेको रमडा विश्वप्रसिद्ध अमेरिकी चेन होटेल हो। १ अर्ब ७ करोडभन्दा बढी लगानीमा निर्माण भइरहेको होटलको लागत अन्तिम चरणसम्ममा बढ्न सक्ने भएकाले हालसम्म कति भयो भन्ने यकिन नभएको उनले बताए।
८ तलाको होटलमा ८० वटा स्तरीय कोठा रहेको छ। होटेलमा रेस्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्विमिङ पुल आदि सेवा रहने छ। होटेलमा विवाह, पार्टी, सेमिनारलाई समेत कोठा व्यवस्थापन गरिने जनाएको छ।
होटेलले १ सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ। विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ। पूर्वी नेपाल घुम्न निस्कने पर्यटक र भारतबाट आउने पर्यटकलाई लक्षित गरी निर्माण गरिरहेको होटलको सम्पूर्ण काम पूरा भएको र आगामी वैशाखभित्र सञ्चालनमा ल्याउने तयारी भएको सञ्चालक बस्नेतले जानकारी दिए।
ग्राण्ड सेन्ट्रल होटल प्रा.लि.ले निर्माण गरेको रमडाले ‘आइआरएन बीबी (डबल बी माईनस) र ‘आइआरएन ए ४’ रेटिङ प्राप्त गरेको थियो। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालबाट कम्पनीले उक्त रेटिङ प्राप्त गरेको थियो।
नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समिति सभापति बस्नेतको एकल लगानीमा सञ्चालनमा आउन लागेको होटलले सो रेटिङ पाएसँगै डलब बी माइनसबाट दीर्घकालीन ८० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फत छोटो अवधिका लागि ३ करोड रुपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने छ।
बिन्धाम होटल एशिया प्यासिफिक प्रा.लि.बाट मान्यता प्राप्त होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिइएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जनाएको छ। कम्पनीलाई दिइएको रेटिङ, लगानीकर्ताको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिएको प्राथमिकतालगायतलाई आधार मानिएको बताइएको छ।
बस्नेतको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनामा प्रत्यक्ष लगानी र परियोजना निर्माण गर्दै आएको छ। बिन्धाम होटलका विश्वभर ९५ देशमा ९ हजार १ सय होटल सञ्चालित छन्।
होटल रहेको स्थान पनि नेपाल भारत सीमाभन्दा ३० किलोमिटरकै दुरीमा रहेकाले यसले भारतीय पर्यटकलाई लक्षित गरेको बताइएको छ। भारतबाट पछिल्लो समय विवाहका लागि नेपाल आउने क्रम बढिरहेको बेला रमडा सञ्चालनमा आएपछि गतिलो गन्तव्यको रुपमा विस्तार हुने विश्वाससमेत सञ्चालक बस्नेतले लिएका छन्।