काठमाडौं । चालु आर्थिक वर्षमा बैंकहरुको नाफामा गिरावट आउने देखिएको छ । ८ ओटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा केही बैंकको घटेको र केहीको मात्र बढेको छ ।
वृद्धि हुने बैंकको नाफा सन्तोषजनक नभएको वित्तीय विवरणले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा पनि बैंहरुको नाफा वृद्धिदर न्युनत रहेको थियो ।
सिटिजन्स बैंक, सिद्धार्थ बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, सानिमा बैंक र एभरेष्ट बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन ।
वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये दोस्रो त्रैमाशमा एनआईसी एसिया, लक्ष्मी बैंक, सनराइज बैंकले राम्रो नाफा गरेका छन । एनआईसी एसियाले ३३, सनराइजले १९ र सानिमाले १७ प्रतिशत नाफा बढाएका छन । सिटिजन्स, सिद्धार्थ र नेपाल बैंकको नाफा घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । एभरेष्ट बैंकले साढे ५ प्रतिशत मात्र नाफा बढाएको छ ।
पहिलो त्रैमासमा पनि बैंकहरुले नाफा घटाएका थिए भने दोस्रो त्रैमासमा पनि बैंकहरुको नाफा क्रमशः घट्दै गइरहेको देखिएको छ । कतिपय बैंकहरुले खुद ब्याज आम्दानी घटाएकाले पनि नाफामा गिरावट आएको देखिन्छ ।
किन घट्यो नाफा ?
सरकारले बजेटमार्फत वाणिज्य बैंकका शाखा हरेक स्थानीय तहमा पुर्याउने योजना ल्यायो । हरेक वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । जसका कारण बैंकहरुको लागत पनि बढेको छ । बढी लागत भएका कारण बैंकहरुको नाफा घटेको हो । नेपाल राष्ट्र बैंकले स्प्रेडदर घटाएपछि नाफा खुम्चिएको बैंकरहरु बताउँछन् । सञ्चालन लागत बढेको, स्प्रेडदर घटेको र बैंकहरुमा कर्जाको माग घट्दा यसको असर नाफामा परेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउछन ।
पछिल्लो समयमा बैंकहरुको लागत नै बढी भएकाले बैंकलाई थेग्नै गाह्रो भएकाले त्यसको असर नाफामा देखिएको उनले बताए । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका दाहालले आफनो बैंकले गरेको नाफा प्रति सन्तुष्ठ छैनन । पछिल्लो समयमा बैंकहरुबीचमा तिब्र प्रतिस्पर्धाले नाफामा असर गरेको उनको भनाई छ ।
बैंकको नाफा घट्नुमा प्रमुख कारण स्प्रेड नै रहेको विकास बैंकर्स संघका अध्यक्ष गोविन्द ढकाल बताउँछन् । ‘बैंकको नाफा त स्प्रेड नै खत्तम बनाइदियो ।’ अध्यक्ष ढकालले भने ।
बैंकहरुले नाफा बढाउन संख्या घटाएर जानुपर्ने बैंकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् । उनले नाफा बढाउन मर्जरमा जानुको विकल्प नभएको बताउँछन । बैंकहरुले बजार हिस्सा बढाउनुपर्ने उनको भनाई छ । १०/११ ओटा बैंकहरु हुँदा त्यसले मार्केट साइज बढाउनुका साथै सञ्चालन लागत घटदा नाफा बढ्ने उनको तर्क छ ।
कसको वित्तीय अवस्था कस्तो ?
एनआइसी एसिया बैंक
एनआईसी एसिया बैंकको चालु आर्थिक वर्षको ६ महिनामा खुदनाफा ३३.३९ प्रतिशत बढेको छ । पुससम्म बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले गत वर्षको तुलनामा ५० करोड ४७ लाख रुपैयाँ नाफा बढाएको छ ।
सानिमा बैंक
सानिमा बैंकले दोस्रो त्रैमासमा नाफा १६.८४ प्रतिशत बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९८ करोड २० लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले अघिल्लो वर्षको तुलनामा यो वर्ष नाफा १६ करोड ५४ लाख रुपैयाँ बढेको हो ।
एभरेष्ट बैंक
दोस्रो त्रैमाशमा एभरेष्ट बैंकको नाफा ५.५८ प्रतिशत मात्र बढाएको छ । पुससम्म बैंकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत वर्षको सोही अवधीको तुलनामा बैंकले ८ करोड रुपैयाँ नाफा बढाएको छ ।
नेपाल बैंक
दोस्रो त्रैमासमा नेपाल बैंकको नाफा साढे १८ प्रतिशतले घटेको छ भने अधिकांश सूचकहरु नकरात्मक छन् । बैंकले १ अर्ब ३५ करोड २३ लाख नाफा कमाएको छ । गत वर्षको सोही अवधीमा बैंकले १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी घटेपछि बैंकको नाफा ३१ करोड रुपैयाँले घटेको हो ।
सिद्धार्थ बैंक
दोस्रो त्रैमाशमा सिद्धार्थ बैंकको नाफा घटेको छ । ६ महिनामा बैंकले १ अर्ब २ करोड ६५ लाख रुपैयाँ खुदनाफा गरेको गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको नाफा झण्डै ४ करोड रुपैयाँ घटेको छ ।
सनराइज बैंक
दोस्रो त्रैमाशमा सनराइज बैंकले खुदनाफा १९ प्रतिशत बढाएको छ । ६ महिनामा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७९ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा बैंकले १५ करोड रुपैयाँ नाफा बढाएको छ ।
लक्ष्मी बैंक
दोस्रो त्रैमासमा लक्ष्मी बैंकको नाफा २४.७६ प्रतिशतले बढेको छ । ६ महिनामा बैंकले ९० करोड ३० लाख रुपैयाँ पुर्याएको हो । गत आवको सोही अवधीमा बैंकले ७३ करोड ३७ लाख रुपैयाँ नाफा गरेको थियो ।
सिटिजन्स बैंक
दोस्रो त्रैमाशमा सिटिजन्स बैंकको नाफा घटेको छ । गत पुससम्म बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७७ करोड रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा झण्डै १० करोड रुपैयाँ घटेको छ ।