काठमाडौं। वायुसेवा सञ्चालक संघले पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु क्षेत्रको हवाई उडानमा समस्या आउनसक्ने जनाएको छ। संघका अध्यक्ष मनोज कार्कीले खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानमाथिको प्रतिबन्ध कायम रहेको भन्दै माघ ९ गतेसम्ममा पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म सोलुखुम्बु जिल्लाभित्र सम्पूर्ण हवाई सेवा स्थगन गर्नुपर्ने बताएका हुन्।
खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सम्बद्ध पक्षसँग सर्वपक्षीय छलफल, संवाद, समन्वय र सहकार्य गरी समस्याको समाधान गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ। हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्धले वायुसेवा सञ्चालन कम्पनीलाई ठूलो आर्थिक नोक्सानी हुने भन्दै संघले यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर पर्ने उल्लेख गरेको छ।
हिमाल अवलोकन तथा पर्वतारोहणका लागि नेपाल आउनेलगायतका पर्यटकले आफ्नो गन्तव्य परिवर्तन गरी अन्य मुलुकतर्फ जाने भएकाले संघले निर्वाद उडान सञ्चालनको माग गरेको छ। त्यसो नभए कोभिड महामारीपछि विस्तारै लयमा फर्किएको पर्यटन व्यवसाय धाराशायी हुनुका साथै विदेशी मुद्रा आर्जन तथा राजस्वमा असर पर्ने संघको भनाइ छ।
राष्ट्रिय निकुञ्ज, नेपाल नागरिक उड्डयन प्राधिकरण र यस संघको अनुरोधलाई हवाई सेवा सञ्चालनका सम्बन्धमा कानुनले प्रत्यायोजन नगरेको अवस्थामा गाउँपालिकाले प्रचलित कानुनको उल्लंघन गरी हेलिकोप्टर सेवा सञ्चालनमाथि गत पुस २५ गते जारी गरेको विज्ञप्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिकालगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाले निकुञ्जको बफर जोनमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको भनेपछि संघले गत पुस १७ गतेदेखि हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउने घोषण गरेको थियो।