काठमाडौं। सरकारले दुई जलविद्युत् आयोजनाका लागि वित्तीय लगानी आह्वानको आशयपत्रसम्बन्धी प्रक्रिया रद्द गरेको छ। जलविद्युत् कम्पनीले किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने उद्देश्यले आह्वान गरेको आशयपत्र प्रक्रिया रद्द गरेको हो।
कम्पनीको सञ्चालक समिति बैठकले उक्त प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो। योग्य लगानीकर्ता नआएपछि प्रस्ताव रद्द गरिएको विद्युत उत्पादन कम्पनीले दाबी गरेकाे छ।
२ आयोजनाको विद्युत उत्पादन कुल क्षमता २३ सय ५६ मेगावाट रहेको छ । आयोजना निर्माणका लागि ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
किमाथांका अरुणको विद्युत उत्पादन क्षमता ४५४ मेगावट छ। यो आयोजना निमार्णका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। यस्तै मुगु कर्णालीकाे विद्युत उत्पादन क्षमता १९ सय २ मेगावाट छ। यो आयोजना निमार्णका लागि ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। २ आयोजना बनाउन ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
सरकारले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना सार्वजनिक/निजी साझेदारी ढाँचामा निमार्णका लागि लगानी जुटाउन गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरेर वित्तीय लगानी आह्वान गरेको थियो।
विद्युत उत्पादन कम्पनीले यी २ आयोजना सार्वजनिक निजी साझेदारी ढाँचामा बनाउन वित्तीय लगानी प्रस्ताव आह्वान गरिएको थियो।
उक्त प्रस्तावमा ६ वटा कम्पनीले आवेदन दिएका थिए। किमाथांका अरुणमा बेला नेपाल इन्डस्ट्रिज प्रालि, भिजन इनर्जी एण्ड पावर प्रालि, एन जे हाइड्रो इनर्जी प्रालि, नोबल ग्रुप अफ हाइड्रो इनर्जी प्रालि,अनक हाइड्रोपावर कम्पनीले आवेदन दिएका थिए।
मुगु कर्णालीमा सिजी इनर्गो प्रालिको आवेदन परेको थियो। सुरुमा १५ दिनभित्र प्रस्ताव पेस गर्ने गरी ८ गतेसम्म आवेदन दिन सकिने गरी प्रस्ताव आह्वान गरिएकामा पछि १५ दिन समय थपिएको थियो।
कम्पनीका अनुसार स्वपुँजी (इक्विटी) को ५१ प्रतिशत लगानी गर्न साझेदार खोजिएको थियो। किमाथांका जलविद्युतका लागि न्यूनतम कबोल मूल्य ९० करोड ८१ लाख ९ हजार ३ सय २ रुपैयाँ तथा मुगु कर्णालीलाई ४८ करोड ७२ लाख ४३ हजार ४ सय २३ रुपैयाँ तोकिएको थियो ।