काठमाडौं। भाटभटेनी सुपर स्टोर्सले नियमित ग्राहकलाई यो वर्ष २२ करोड बढी रुपैयाँ बराबरको गिफ्ट भौचर उपहारको घोषणा गरेको छ। यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभर फैलिएको २७ वटा भाटभटेनी स्टोर्समा जहाँबाट पनि खरिद गर्न सक्नेछन्।
यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्त गर्नेमध्येका एक लाख ९ हजार ग्राहकले प्राप्त गर्नेछन्। भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले गिफ्ट भौचर प्राप्त गरेको सीओओ पानु पौडेलले जानकारी दिए।
कम्तीमा १३ सयदेखि २ लाखसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेका छन्। यसरी बाँडिने गिफ्ट भौचर कुल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबर हुनेछ।
सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँडने कार्य २०८१ माघ ६ गते देखि फागुन ९ गतेसम्म रहनेछ। भाटभटेनी सुपर स्टोर्सले आफ्ना ग्राहकका लागि धेरै प्रकारको सुविधाका प्याकेज बेला बेलामा घोषणा गर्दै आएको छ। चाड–बाड र पर्वहरूमा पनि सधैं विशेष छूट दिंदै आएको पनि पौडेलले बताएका छन्।
ग्राहक सुविधाबाहेक पनि भाटभटेनी सुपर स्टोर्सका अध्यक्ष मीनबहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिंदै आएका छन्। गएको असोजमा काठमाडौं र देशका अन्य क्षेत्रमा आएको बाढीपीडितको सहयोगका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत एक करोड ११ लाख ११ हजार १११ सहयोग गरेका थिए।
त्यस्तै नेकपा एमालेको कार्यालय सो बाढीको डुबानमा परेपश्चात गुरुङले करिब १० रोपनी जग्गा एमाले कार्यालय बनाउन सहयोग गर्ने र त्यसमा भवन पनि बनाइदिने घोषणा गरेका छन्। त्यसअघि डा भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल (कियोच) लाई ४१ करोड रुपैयाँ सहयोग गरेका छन्।
त्यसबाहेक जाजरकोटको भूकम्पको बेलामा सहयोग गर्ने, टिचिङ अस्पतालको इमर्जेन्सी भवन बनाइदिने, दुर्गम क्षेत्रका जेहन्दार बिद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा डाक्टर पढाउनेजस्ता सामाजिक कार्यमा गुरुङको देन रहेको छ।