सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) भनेको नियमित रूपमा सानो रकम लगानी गर्दै जान मिल्ने योजना हो। यसमा निश्चित समयको अन्तरालमा (मासिक, त्रैमासिक आदि) निश्चित रकम लगानी गरिन्छ। एसआईपीले एकमुष्ट लगानी गर्नुको सट्टा क्रमशः सानो–सानो रकम लगानी गर्दै दीर्घकालीन रुपमा सम्पत्ति निर्माण गर्न मद्दत गर्छ।
योजनाबद्ध तरिकाले नियमित रूपमा लगानी गर्ने विधि व्यवस्थित लगानी योजना एसआईपी हो। यो म्युचुअल फन्डमा पैसा लगानी गर्ने अनुशासित र व्यवस्थित तरिका हो। एसआईपीमा लगानीकर्ताले निश्चित म्युचुअल फन्ड योजनामा निर्धारित अन्तरालमा मासिक, त्रैमासिक, अर्धवार्षिक नियमित रूपमा लगानी गर्छ।
लगानीकर्तालाई सबै खाले बजार अवस्थामा भाग लिने अवसर यसले दिन्छ। लगानीको रकम स्थिर रहँदा वा मूल्य कम हुँदा समयसँगै औसत लागतका आधारमा म्युचुअल फन्डको धेरै इकाइ र मूल्य उच्च हुँदा थोरै इकाइ खरिद गरिन्छ। एसआईपीले वित्तीय अनुशासनलाई बढावा दिन्छ र दीर्घकालीन सम्पत्ति निर्माणमा सघाउँछ।
एसआईपी म्युचुअल फन्डद्वारा प्रस्तावित प्रणालीगत लगानी योजना दीर्घकालीन रूपमा लगानीको संसारमा प्रवेश गर्ने सजिलो उपाय हो।
नेपालमा एसआइपीमा कसरी लगानी गर्ने?
नेपालमा एसआइपीको अवधारणा नयाँ भए पनि म्युचुअल फन्डको विकाससँगै यसको लोकप्रियता बढ्दै गएको छ। यहाँ एसआइपीमा लगानी गर्नका लागि चाहिने प्रक्रिया उल्लेख गरिएको छ।
नेपालमा उपलब्ध म्युचुअल फन्डको जानकारी लिने
नेपालमा एनआइबीएल एस क्यापिटल, सिद्धार्थ क्यापिटल, एनआइसी एसिया क्यापिटलजस्ता संस्थाले म्युचुअल फन्ड चलाउँछन्। यी फन्डले नेप्सेमा सूचीकृत सेयर, बन्ड र अन्य सुरक्षा साधनमा लगानी गर्छन्।
म्युचुअल फन्ड योजना छनोट गर्ने
आफ्नो वित्तीय लक्ष्यअनुसार फन्ड छान्नुहोस्। उदाहरणका लागि, लामो समयसम्म उच्च प्रतिफल चाहिने हो भने इक्विटीमा आधारित फन्ड रोज्न सकिन्छ।
डिम्याट र मेरो सेयरमा खाता खोल्ने
म्युचुअल फन्डमा लगानी गर्न यी खाता अनिवार्य छ। यी खाता कुनै पनि बैंक वा सिडिएस र क्लियरिङ लिमिटेडमा दर्ता भएका ब्रोकरमार्फत खोल्न सकिन्छ।
एएमसी वा बैंकबाट एसआईपी सुरु गर्ने
आफूले रोजेको म्युचुअल फन्डको एसेट म्यानेजमेन्ट कम्पनीमा सम्पर्क गरी एसआईपी सुविधासम्बन्धी जानकारी लिन सकिन्छ।
लगानी रकम र अन्तराल निर्धारण गर्ने
मासिक, त्रैमासिक वा अन्य निश्चित समयमा कति रकम लगानी गर्ने भनेर निर्णय गर्नुहोस्। यो रकम तपाईंको लिंक गरिएको बैंक खातामार्फत नियमित रूपमा काटिन्छ।
लगानी अनुगमन गर्ने
आफ्नो वित्तीय लक्ष्यअनुसार लगानी सही दिशामा छ कि छैन भनेर समयसमयमा पुनरवलोकन गर्नुहोस्।
नेपालमा एसआईपीको फाइदा
सस्तो र पहुँचयोग्य
एक हजार रुपैयाँबाट सुरु गर्न सकिन्छ, जसले साना लगानीकर्तालाई पनि अवसर दिन्छ।
नियमित बचतको बानी
एसआईपीले नियमित रूपमा बचत गर्ने र लगानी गर्ने बानी बसाल्छ।
चक्रवृद्धि ब्याजको फाइदा
लगानी गरिएको रकमले प्रतिफल सिर्जना गर्छ र त्यो प्रतिफलले थप प्रतिफल सिर्जना गर्दै सम्पत्ति निर्माणको गति तेज बनाउँछ।
बजारको जोखिम कम गर्ने
रुपैयाँ लागत औसत सिद्धान्तअनुसार जब बजार तल छ, बढी युनिट खरिद हुन्छ, बजार माथि छ, कम युनिट खरिद हुन्छ।
लचिलोपन
एसआईपी मा लगानी बढाउन, घटाउन, वा रोक्न सकिन्छ, त्यो पनि कुनै जरिवाना तिर्नु नपर्ने।
विविधीकरण
म्युचुअल फन्डले सेयर, बन्ड, र अन्य साधनमा लगानी गरेर जोखिमलाई कम गर्छ।
अहिले नेपालमा एसआईपी किन महत्वपूर्ण?
बजारको सम्भावना नेप्से क्रमिक रूपमा विकसित हुँदै छ, र म्युचुअल फन्डमा प्रारम्भिक लगानीले दीर्घकालीन उच्च प्रतिफल दिन सक्छ।
पुँजी बजारमा सरकारको प्राथमिकताः नेपाल सरकार र नेपाल राष्ट्र बैंकले वित्तीय बजारको विकासमा जोड दिइरहेका छन्।
सुविधा डिम्याट, मेरो सेयर र अनलाइन प्लेटफर्मले एसआईपीमा लगानी सहज बनाएका छन्।