काठमाडौं। उद्योग विभागले पुसमा करिब ५ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत भएको तथ्यांक सार्वजनिक गरेको छ।
विभागले आज सार्वजनिक गरेको विवरणअनुसार अटोमेटिक रुट र प्रत्यक्ष गरी ३५ परियोजनाका लागि ४ अर्ब अर्ब ९९ करोड ९१ लाख बराबरको लगानी स्वीकृत गरिएको हो।
विभागका अनुसार पुसमा एक वटा ठूलो उद्योग, एक मध्यम र ३३ साना उद्योगका लागि लगानी स्वीकृत भएको हो। विभागले पुस महिनासहित ६ महिने अवधिको पनि तथ्यांक सार्वजनिक गरेको छ।
विभागका अनुसार ६ महिने अवधिमा ३५४ परियोजनाका लागि २५ अर्ब २७ करोड लगानी प्रतिबद्धता प्राप्त भएको छ। लगानी प्रतिबद्धता प्राप्त भएका परियोजनामा ३४५ साना, ५ मझौला र ४ वटा ठूला उद्योग छन्।
विभागका अनुसार यो अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटनमूलक उद्योगका लागि प्राप्त भएको छ। १५७ पर्यटनमूलक उद्योगमा करिब १७ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको विभागको विवरणमा उल्लेख छ।
यस्तै, कृषिमूलक उद्योग ६ वटाका लागि ७४ करोड, पूर्वाधारमूलक दुई वटाका लागि १२ करोड, सूचना प्रविधिमूलक ११९ वटाका लागि ७४ करोड, उत्पादनमूलक २५ उद्योगको लागि २ अर्ब ५ करोड रुपैयाँ र अन्य सेवामूलक ४५ उद्योगका लागि ५ अर्ब १५ करोड बरारबको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ।