काठमाडौं। होटल संघ नेपालले स्थापना दिवसको अवसर पारेर माघ २ गते नेपाल सत्कार दिवस २०२५ सम्पन्न गरेको छ। गत वर्षदेखि सुरु भएको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए।
दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धी, सामना गरिएका चुनौती र भावी दिनको योजना तथा कार्यक्रमको प्रस्तुति गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने सम्वृद्धिको लेखा जोखा हुने अध्यक्ष शाहको भनाइ छ।
राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा १ लाख ४२ हजारभन्दा बढी होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको छ। यस क्षेत्रमा १ लाख १६ हजारभन्दा बढी होटल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुरेन्टले २२ लाख ग्राहकलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरेको थियो।
तथ्यांकले देखाए जस्तै प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटक/ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहवर्द्धक आपूर्तिको स्थिति इंगित गर्दछ। त्यसको अनुपातमा विद्यमान मागको अवस्था करिब एक तिहाइको हाराहारीमा मात्र रहेको २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजारको तथ्यांकले दर्शाएको उनले बताए।
सडकका कारण काठमाडौंदेखि २ सय किलोमिटरको दुरी पोखरा पुग्न पर्यटक तयार देखिँदैनन् । गत वर्ष भएका हवाई तथा सडक दुर्घटनाका साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली एयरलाइन्सले उन्मुक्ति पाउन नसकेकाले समस्या झन बढेको अध्यक्ष शाहले बताए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमोचन गर्दै सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालालाई एकै थलो राखी मुलुकको समग्र पर्यटनको विषयवस्तु यकीन हुने कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको भन्दै सराहना गरे।
मन्त्री पाण्डेले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनालाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको जानकारी गराए। निजी क्षेत्रसँगको समन्वयबिना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकीर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेत्रसँगको सहकार्य गर्दै आइरहेको उनले बताए।
कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकलाई सम्मानसमेत गरिएको थियो। उक्त सम्मान नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई प्रदान गरिएको थियो। उक्त अवसरमा मुलुकमा रैथाने खाना प्रवर्द्धनमा सघाउ पुर्याउने मुर्धन्य सेफलाई समेत सम्मान गरिएको थियो। कार्यक्रमलाई सघाउ पुर्याउने विभिन्न प्रायोजकलाई समेत सम्मान गरिएको थियो।
सातै प्रदेशबाट प्रतिनिधत्व गर्ने होटल व्यवसायी, सरोकारवाला र प्रतिष्ठित व्यक्तित्वको भेला रहेको उक्त कार्यक्रमलाई स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष प्रविण बहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र २०२५ र २०२६ मा खोलिने क्रममा रहेका ठूला तथा सना होटलहरुले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्याउने नै देखिन्छ।
यसरी नेपाली ब्राण्ड विदेशमा लैजाने क्रमको सुरुआत भएको छ भने विदेशी ब्राण्डले पनि नेपाल साँच्चिनै प्रकृतिले भरिएको सुन्दर मुलुक रहेको संसारभर सकारात्मक सन्देश फैलाउन सक्ने बताए। उपाध्यक्ष पाण्डेले कैयन होटल र लजहरुबिना दर्ता सञ्चालनमा रहेको दुःखद् विषय नै हो।
‘राज्यले ठूलो राजस्व गुमाउनुका साथै राज्य र विभिन्न संघसंस्थाहरुबाट गरिएको विश्वव्यापी प्रवद्र्धनबाट नेपाल भित्रिएका पर्यटकहरु दर्ता नभएका होटल लजमा बस्दा यस संघमा कानुनी दायरामा रही दर्ता संचालनमा रहेका होटलहरुलाई अन्याय भएको हामीले महसुस गरेका छौं’, वरिष्ठ उपाध्यक्ष पाण्डेले भने, ‘यसलाई राज्यबाट कानुनी दायरामा ल्याउन सके राजस्व वृद्धि हुनुका साथै राष्ट्रिय ग्राहस्थ्य उत्पादनमा समेत मद्दत पुग्छ।’
सहभागीलाई संघका महासचिव साजन शाक्यले धन्यवाद व्यक्त गरेका थिए। सोही दिन संघको वार्षिक साधारणसभासमेत सम्पन्न भएको थियो। उक्त साधारणसभाले संघलाई सातै प्रदेश र सबै जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित गर्यो। कार्यक्रममा सबै प्रदेशका रैथाने तथा मौलिक खानाको परिकारबाट सत्कार गरिएको थियो।