काठमाडौं। काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समिति आफैले बनाएको कार्यविधि उल्लंघन गरेको पाइएको छ। समिति संयोजक सुरेशराज शर्माका भान्जाले केयू भिसीमा आवेदन दिएपछि समिति आफैले बनाएको कार्यविधि उल्लंघन गरेको हो।
दफा १२ मा मूल्यांकन प्रक्रियामा हुने/नहुने व्यवस्थाअन्तर्गत उपदफा १ मा समितिमा कुनै सदस्य वा समितिबाट गठित उपसमिति वा कुनै विज्ञका नजिकका नातेदारले उपकुलपतिको पदमा दर्खास्त पेस गरेको अवस्थामा यस्तो सदस्य वा विज्ञ मूल्यांकन प्रक्रियामा सहभागी हुन नमिल्ने उल्लेख छ।
दफा १२ को २ उपदफा १ बमोजिमको अवस्थामा समितिका अध्यक्ष वा सदस्यका हकमा कुलपति (प्रधानमन्त्री)बाट र उपसमिति वा अन्य कुनै विज्ञका हकमा समितिबाट व्यवस्था भएबमोजिम हुने छ।
यसको अर्थ आफ्ना नातेदार भिसीका लागि दौडमा रहेको अवस्थामा समितिले प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने छ। प्रधानमन्त्री सचिवालयका अनुसार अहिलेसम्म यसबारे प्रधानमन्त्रीलाई कुनै पनि जानकारी गराइएको छैन।
‘समितिले मंगलबार सूचना प्रकाशित गरेको र १६ जना सहभागी भएको थाहा पाइएको हो,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘संयोजक ज्यूले अहिलेसम्म आफ्ना नातापर्ने व्यक्तिले आवदेन दिएको निर्णय प्रक्रियामा सहभागी नहुने भनेर जानकारी दिनुभएको छैन।’
मंगलबार समितिले प्रकाशन गरेको दर्खास्त स्वीकृतिसम्बन्धी सूचनामा उनका भान्जा मनिष र नवीनले उपकुलपतिका लागि दिएपछि समितिमाथि नैतिक र कानुनी संकट उत्पन्न भएको हो। समितिले प्रकाशित गरेको सूचनाअनुसार मनिष ११ र नवीन ३ नम्बरमा छन्।
संयोजक सुरेशराज शर्मामाथि कानुनी संकट उत्पन्न भएको छ। शर्माका भान्जाद्वय प्रा.डा. मनिष पोखरेल र प्रा.डा. नवीन पोखरेलले उपकुलपतिमा आवेदन दिएपछि शर्मा नैतिक र कानुनी संकटमा परेका हुन्।
समितिले बनाएको काठमाडौं विश्वविद्यालयको उपकुलपति खोज तथा सिफारिससम्बन्धी कार्यविधि २०८१ को दफा १२ सँग बाझिएका उनीमाथि नैतिक र कानुनी संकट आएको हो। उपकुलपतिका दौडमा रहेका नवीनले शर्मा आफ्ना मामा भएको स्वीकार गरे।
‘उहाँ मेरो नाताले मामा हो। तर, मैले मामा भएका कारण आदेवन दिएको होइन।’ उनले क्यापिटल नेपालसँग भने, ‘मेरो योग्यता पुगेकाले आवेदन दिएको हुँ। यदि, यहाँ (समिति)ले बनाएको कार्यविधिअनुसार मिल्दैन भने संयोजक ज्यू निर्णय प्रक्रियामा रहनु हुन्न। त्यो कुरा कार्यविधिमै उल्लेख छ।’ यता, संयोजक शर्माका सहयोगीले उनी विरामी भएकाले कुरा गर्न नसक्ने जानकारी दिए।