काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिकाले छात्राका लागि बचत खाता खोल्ने भएको छ। गत मंसिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो।
गत मंसिर २६ गते कुमारी बैंकसँग सम्झौता गरी गाउँपालिकाका विभिन्न वडाका विद्यालयमा पुगेर छात्राका लागि खाता खोलिने गाउँपालिकाका प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिए।
उनका अनुसार आँबुखैरेनी गाउँपालिका ५ लाब्दीस्थित अरुणोदय प्राथमिक विद्यालयमा माघ ३ गते, सोही वडाको खेउसिङस्थित कामधेनु प्राविमा माघ ४ गते, सानोभञ्ज्याङस्थित इन्द्रदेव आधारभूत विद्यालयमा माघ ४ गते, आँबुखैरेनी गाउँपालिका ६ प्यूघरफाँटस्थित लक्ष्मी माविमा माघ ४ गते विद्यार्थीको खाता खोलिने छ।
खाता खोल्नका लागि विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, विद्यार्थीको अभिभावकको नागरिकताको प्रतिलिपि, अभिभावकको पासपोर्ट साइजको फोटो आवश्यकपर्ने जनाइएको छ।
गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलो पटक छात्रा बचत कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्रालाई एक हजार बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता खोलिदिने कार्यक्रम छ।
छात्राको नाममा खोलिएको खातामा कुमारी बैंकले २० बजार बराबरको स्वास्थ्य बिमाको सुविधा दिने जनाएको छ। यसअघि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ।