काठमाडौं। नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ। नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल)को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
नबिलको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविर कार्यक्रममा ४८ राउटे परिवारका १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये ५९ जना महिला र ७८ जना पुरुष रहेका थिए।
यो शिविर कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरेको थियो। जुका, भिटामिन, र आइरन चक्की जस्ता औषधिहरू पनि उपलब्ध गराइएको थियो।
“राउटे समुदायको विशिष्ट सांस्कृतिक मान्यता र जीवनशैलीलाई सम्मान गर्दै, उनीहरूको स्वास्थ्य सुधारका लागि यो शिविर सञ्चालन गरिएको हो, शिविरले स्वास्थ्य सचेतना बढाउने र सेवा पहुँचलाई थप सुदृढ बनाउने छ,” उनले भने।
स्वास्थ्य शिविरमा राउटे समुदायको मुखिया तथा अन्य स्थानीय प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रममा बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले नेपालकै लोपोन्मुख जातीको बस्तीमा आएर स्वास्थ्य शिविर चलाउनु सराहनीय कार्य रहेको बताए।
राउटेको समग्र विकासको लागि गाउँपालिका लगायत समग्र प्रदेश र संघीय सरकारको नै मुख्य जिम्मेवारी रहेको उनले बताए। विपन्न समाजको सामाजिक उन्नयनमा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्दा अझ सजिलो भएको उनले बताए।
नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न सामाजिक कार्य गर्दै आएको छ। भविष्यमा पनि समाजको समग्र सुधारका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ।