प्रारम्भिक मानव सभ्यताको विकाससँगै स–साना आर्थिक लेनदेन, वस्तु आदान प्रदान (बार्टर सिस्टम), धार्मिक स्थलहरूमा धन संकलन र ऋण लिने/दिने प्रक्रिया अघि बढेको पाइन्छ। व्यापारिक तथा आर्थिक गतिविधि भने पन्ध्रौँ शताब्दीको अन्ततिर सन् १५८७ मा इटालीको भेनिस र फ्लोरेन्स सहरबाट आधुनिक बैंकिङ प्रणालीका रूपमा सुरु भएको देखिन्छ।
प्राकृतिक बौद्धिकताबाट सुरुआत भएको आर्थिक गतिविधि आज नगदरहित कारोबार तथा डिजिटल माध्यमसम्म आइपुगेको छ। तत्काल भुक्तानी गर्ने मिल्ने प्रविधसँगै जेनेरेटिभ एआई (जेनएआई)का रुपमा कृत्रिम बौद्धिकता (एआई)को नवीनतम प्रयोग हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रको सेवा तथा संरचनामा रुपान्तरणकारी परिवर्तन भएको छ। यो बैंकिङ क्षेत्रमा प्रवेश गरेको नयाँ युगीन मोड हो।
पछिल्ला दुई दशकमा इन्टरनेट प्रविधिको उत्कर्षले वित्तीय सेवाको स्वरुपलाई तीव्र रूपमा परिमार्जन मात्र गरेको छैन, बैंकिङ सेवामा जेनेरेटिभ एआईको प्रवेशबाट सञ्चालन प्रणाली र रणनीतिक दृष्टिकोणको आधारभूत मान्यतामा ठूलो परिवर्तन ल्याउने साधन बनेको छ।
बैंकिङ क्षेत्र प्रविधिको प्रयोगमा मात्र सीमित नभई, दिगो विकास र रणनीतिक निर्णय प्रक्रियाको अभिन्न अंगका रुपमा जेनएआईले वित्तीय सेवाको प्रभावका आयाम र रणनीतिक बाटोलाई पुनः परिभाषित गर्ने बिन्दुमा ल्याइएको छ। नवीन प्रविधि ‘ब्लकचेन’, विकेन्द्रीकृत वित्त, क्वान्टम कम्प्युटिङ र क्रिप्टोकरेन्सीले बैंकिङको अवधारणालाई ‘बिगटेक’ र ‘फिनटेक’हरूसँगको सहकार्यसहितको नयाँ संस्करण र नयाँ संरचनामा अगाडि बढाइरहेका छन्।
सन् २०१७–१८ देखि प्रभावकारी हिसाबले विकसित हुँदै आएको जेनएआई मेसिन लर्निङ र डिप लर्निङ प्रविधिमा आएको तीव्र प्रगतिले विश्वव्यापी रूपमा लोकप्रिय मात्र बनाएको छैन, अमेरिकी कन्टिनेन्टसका ठूला बैंकले यस यात्रामा अग्रणी भूमिका निर्वाह गरेका छन्। विश्व बजारमा जेनएआईको कारोबार सन् २०२१ मा १.५ अर्ब अमेरिकी डलर रहेको थियो।
सन् २०२५ को अन्त्यसम्म आइपुग्दा ६.५ अर्ब डलरमा वृद्धि हुने प्रक्षेपण गरिएको छ। जसले वार्षिक औसत वृद्धि दर ३४.९ प्रतिशत रहेको देखाउँछ। नेपालको सन्दर्भमा जेनएआई प्रयोग नितान्त नौलो र प्रारम्भिक चरणमा भए पनि आर्थिक, वित्तीय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यसको ठूलो सम्भावना छ। नेपालमा जेनएआईको सम्भावना अपार भए पनि सीमित पूर्वाधार, दक्ष जनशक्ति अभाव र डेटा गोपनीयताजस्ता चुनौतीले छिटोभन्दा छिटो पश्चिमी मुलुकमा जस्तै यो नयाँ प्रविधि ठूलो आयतनमा लागू हुन्छ भन्ने कुरामा शंका गर्ने प्रशस्त ठाउँ छन्।
नेपालमा अर्थतन्त्रको ठूलो हिस्सा बैंकिङ क्षेत्र भएको र लगानी हिसाबले बढी क्षमता राख्ने बैंक तथा वित्तीय संस्था भएकाले जेनएआईको प्रयोग बैंकिङ जगत र वित्तीय क्षेत्रले बढी अवलम्बन गर्ने सम्भावना छ। यो परिवर्तनले बैंकिङलाई सरल, सहज र ग्राहकमैत्री सेवाको नयाँ युगमा प्रवेश गराएको छ। उदाहरणका लागि ग्राहकको व्यवहार, रुचि र मागलाई बुझेर एआई आधारित च्याटबट र व्यक्तिगत सेवा प्रदान गर्ने प्रणालीले ग्राहक सन्तुष्टिमा आमूल परिवर्तन तथा सुधार गरेको छ।
जेनएआईले ठूला डाटासेटलाई छिटो र सटीक रूपमा विश्लेषण गरी जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ। जेनएआईको मद्दतले नयाँ उत्पादनको सिर्जना र तिनीको सहयोग तथा समायोजनले बैंकको आफ्नो सञ्चालन कार्यक्षमता, ग्राहकसँगको सहकार्य र दिगो व्यावसायिक वृद्धिका लागि आवश्यकतामा आधारित मापदण्डले नयाँ आयाम थप्दै गएको छ। साथै, यस क्षेत्रलाई थप सहज, लचिलो, ग्राहकमैत्री बनाउन अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
एआईको फराकिलो सम्भावना र दायराले बैंकिङ क्षेत्रको नीतिगत विषय र ज्ञानको व्यवस्थापनदेखि लगानी अनुसन्धान, रणनीतिक विश्लेषण हुँदै व्यक्तिगत बैंकिङ सेवासम्म अविश्वसनीय र प्रचुर सम्भावना अनि भविष्यलाई दिशानिर्देशन गर्ने देखिन्छ।
नेपालको सन्दर्भमा जेनएआई प्रयोग नितान्त नौलो र प्रारम्भिक चरणमा भए पनि आर्थिक, वित्तीय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यसको ठूलो सम्भावना छ। नेपालमा जेनएआईको सम्भावना अपार भए पनि सीमित पूर्वाधार, दक्ष जनशक्ति अभाव र डेटा गोपनीयताजस्ता चुनौतीले छिटोभन्दा छिटो पश्चिमी मुलुकमा जस्तै यो नयाँ प्रविधि ठूलो आयतनमा लागू हुन्छ भन्ने कुरामा शंका गर्ने प्रशस्त ठाउँ छन्।
बैंकिङमा जनरेटिभ एआईको प्रभाव र परिमाणात्मक लाभ
बैंकिङ सेवाका विभिन्न पक्ष र यसको इकोसिष्टमलाई अझ बढी चुस्त दुरुस्त बनाउने र छिटोछरितो सेवा प्रदान गर्दै दीर्घकालीन वित्तीय लाभहरू परिमाणात्मक हिसाबले लिन सकिने देखिन्छ। रिटेल तथा कञ्जुमर बैंकिङले ग्राहक अन्तक्रिया र वित्तीय मोडेलिङलाई थप व्यवस्थित बनाएको छ। कर्पोरेट र साना तथा मझौला व्यवसाय (एसएमबी)का व्यावसायिक ऋण प्रवाह, गुणस्तर मापनको प्रक्रिया र जोखिम व्यवस्थापनका विभिन्न पक्षमा क्रमशः सुधार देखिएको छ। साथै, संस्थागत सुशासन र अनुपालनका क्षेत्रमा पनि जनरेटिभ एआईको प्रयोग अत्यन्त सहायक देखिएको छ। जेनएआईले बैंकिङ क्षेत्रमा धेरै महत्वपूर्ण प्रभाव र उपयोग छन्। जसले बैंकिङका प्रक्रिया सुधार गर्न सक्छ। यहाँ केही मुख्य पक्षहरूको विश्लेषण गरिएको छः
१. दैनिक कार्यको अटोमेसनः जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगले दैनिक हुने कामहरूको अटोमेसन र स्वचालित प्रक्रियामार्फत समय र स्रोतको प्रभावकारी उपयोग गर्न सहयोग पुर्याउँछ। डेटा इन्ट्री, फाइलको व्यवस्थापन र समयमा रिपोर्टिङ जस्ता काम अटोमेटेड गरेर ती प्रक्रियालाई छिटो र सहज रूपमा सम्पन्न गराउन भूमिका खेल्दछ। साथै, कर्मचारीलाई दोहोरिने कामबाट मुक्त गरी अन्य प्राथमिकताका काममा ध्यान केन्द्रित गर्न र समय बचत गर्न योगदान पुर्याउँछ।
ग्राहक सेवामा प्रयोग गरिने च्याटबट र भर्चुअल असिष्टेन्टले ग्राहकका विभिन्न समस्या र सोधपुछको तुरुन्त जवाफ दिने र समाधान गरी सेवाको गुणस्तरमा आमूल परिवर्तन गर्न सहयोग गर्छन्। एआई प्रयोगले समयको बचत मात्र होइन, मानवीय कमजोरी कम गर्न र समयमा गरिनुपर्ने कामलाई व्यवस्थित ढंगले सम्पन्न गर्न सहयोग पुर्याउँछ। यसले प्रशासनिक तथा अपरेशनसम्बन्धी कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै समग्र लागत घटाउन मद्दत पुर्याउँछ।
२. परिस्कृत ग्राहक सेवाः जेनएआईको प्रयोगबाट ग्राहक आवश्यकता पहिचान गरी उनीहरूको व्यक्तिगत आवश्यकतामा आधारित सेवा प्रस्ताव गर्न सक्छन्। उदाहरणका लागि ग्राहकको वित्तीय व्यवहारको विश्लेषण गरी उनीहरूको प्राथमिकताअनुसार व्यक्तिगत सल्लाह, बचत योजना वा लगानीको सिफारिस गर्न सक्दछ। साथै २४ घण्टा उपलब्ध रहने च्याटबटको माध्यमबाट जानकारी उपलब्ध गराउने सुविधा प्रदान गर्न सकिन्छ। यसले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा दिने मात्र होइन, बैंकप्रति विश्वास, सामिप्यता र आत्मसन्तुष्टि पनि बढाउँछ। बैंकहरूले मोबाइल एप्स, वेबपोर्टल र सामाजिक सञ्जालजस्ता विभिन्न माध्यममा जेनएआई प्रयोग गरी ग्राहकसँग अन्तरक्रिया गर्न सक्छन् र आवाज पहिचान प्रविधि र प्राकृतिक भाषा प्रशोधनमार्फत ग्राहकको भाषा र शैलीअनुसार सेवा दिन सक्छ। यसले ग्राहक सम्बन्धलाई थप प्रगाढ बनाउने र उनीहरूको अनुभवलाई व्यक्तिगत र विशेष बनाउने काम गर्दछ।
३. सञ्चालन क्षमता अभिवृद्धिः जेनएआईको प्रयोगले बैंकहरूले आफ्ना ठूला काम कारबाही सानो कर्मचारी क्षमताको आधारमा सम्पन्न गर्न सक्दछ। त्यससँग सम्बन्धित सञ्चालन खर्चहरूको बचतमा ठूलो भूमिका खेल्छ। जेनएआईले बैंकका विभिन्न प्रक्रियालाई स्वचालित बनाउनुका साथै समयको बचत र स्रोतको उच्चतम उपयोगको माध्यमबाट उत्कृष्ट ग्राहक सेवा, कर्जा प्रोसेसिङ सम्पन्न गर्ने समय र कर्जा रकमलाई खातासम्म क्रेडिट गर्ने कार्यलाई स्वचालित विधिबाट कम समयमै उच्च गुणस्तरका सेवा प्रदान गर्न सक्छ।
४. जोखिम व्यवस्थापनमा सुधारः जेनएआईले ठूलो मात्रामा वित्तीय डेटा विश्लेषण गरी सम्भावित जोखिम पहिचान गर्दै व्यवस्थापनमा अधिक सुधार गर्न सक्छन्। उदाहरणका लागि जेनएआईको एल्गोरिदमले ग्राहकहरूको क्रेडिट इतिहास, लेनदेनका ढाँचा र बजारको ट्रेन्डको विश्लेषण गरेर सम्भावित कर्जा नोक्सानी व्यवस्था (इसीएल)मार्फत सम्भावित डिफल्ट गर्ने ग्राहक पहिचान गरी पूर्वसावधानी अपनाउन र निष्क्रिय कर्जाको जोखिम घटाउन मद्दत गर्दछ।
जेनएआईले साइबर सुरक्षा जोखिम व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ। यसले बैंकको डिजिटल प्रणालीमा हुने असामान्य गतिविधिलाई पहिचान गर्न, फ्रडका प्रयास पत्ता लगाउन र तुरुन्तै सम्बन्धित ठाउँमा सचेत गर्नुका साथै बैंकहरूको जोखिम व्यवस्थापन प्रक्रियालाई छिटो छरितो र प्रभावकारी बनाउने मात्र होइन, नियामक संस्थाको मापदण्डअनुसार अनुपालन सुनिश्चित गर्न पनि सहयोग गर्दछ। यसले आम जनमानसको बैंकप्रति विश्वास बढाउन मद्दत गर्दछ।
५. डेटाको विश्लेषण र मूल्यांकनः जेनएआई प्रयोगले बैंकहरूले डेटा विश्लेषण र मूल्यांकन प्रक्रियालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूको व्यवहार, प्राथमिकता र वित्तीय गतिविधिको गहिरो अध्ययन गरेर व्यक्तिगत सेवाको सम्भावित कार्य योजना तयार गरी सम्बन्धित विभागलाई सिफारिस गर्न सक्छ। यसले बैंकलाई आफ्ना उत्पादन र सेवालाई ग्राहकको आवश्यकताअनुसार परिमार्जन गरी अगाडि बढाउन सहयोग गर्दछ। साथै, छोटो समयमा डेटा प्रोसेसिङ र विश्लेषण गर्न सक्ने क्षमताले बैंकहरूलाई छिटो निर्णय लिन सक्षम बनाउँछ। बजारको ट्रेण्ड, प्रतिस्पर्धीहरूको गतिविधि र आर्थिक सूचकहरूको विश्लेषण गरेर रणनीतिक निर्णयका लागि उपयोगी जानकारी उपलब्ध गराउँछ। यसले वित्तीय जोखिमको मूल्यांकन र भविष्यवाणी गर्न मद्दत गर्दै बैंकलाई दीर्घकालीन योजना बनाउन सहयोग पुर्याउँछ।
जेनएआईको प्रयोगबाट ग्राहक आवश्यकता पहिचान गरी उनीहरूको व्यक्तिगत आवश्यकतामा आधारित सेवा प्रस्ताव गर्न सक्छन्। २४सै घन्टा उपलब्ध च्याटबटको माध्यमबाट जानकारी उपलब्ध गराउने सुविधा प्रदान गर्न सकिन्छ। यसले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा दिने मात्र होइन, बैंकप्रति विश्वास, सामिप्यता र आत्मसन्तुष्टि पनि बढाउँछ।
६. नियमकीय अनुपालनामा सहयोगः जेनएआई प्रयोगले बैंकहरूलाई नियामकीय अनुपालन प्रक्रियामा उल्लेखनीय सहयोग गर्नुका साथै बैंकका विभिन्न विभागबाट संकलित डेटा र नियामक संस्थाहरूका निर्देशिकाको विश्लेषण गरी अनुपालनसम्बन्धी आवश्यकताको स्वतः समीक्षा गर्न सक्छ। उदाहरणका लागि, जेनएआईले रिपोर्टिङ आवश्यकता पूरा गर्न आवश्यक डेटा निकालेर नियामक निकायलाई बुझाउनुपर्ने रिपोर्ट तयार गर्न मद्दत गर्दछ। यसले बैंकका कर्मचारीको समय बचत गर्नुका साथै त्रुटीहरूलाई निरुत्साहित गर्न सहयोग पुर्याउँछ।
यसबाहेक जेनएआईले आवश्यकताअनुसार समयानुकूल चाहिने आवश्यक नीति तथा नियमलाई उपयुक्त समयमा उपलब्ध गराउन सहयोग गर्दछ। सम्भावित गैरअनुपालनका जोखिम पहिचान गरी समयमा सुधारका उपाय पेस गर्न सक्छ। यसले बैंकलाई नियामक संस्थासँगको सम्बन्ध मजबुत बनाउने र विश्वास योग्य वित्तीय संस्था बन्ने आधार तयार गर्दछ।
७. आम्दानी वृद्धि तथा खर्चमा मितव्ययिताः जेनएआईले समयानुकूल कर्जा योजना, बचत खाता वा डिजिटल प्रोडक्ट्स तथा लगानीका विकल्पको मूल्यांकन तथा सिफारिस गरेर ग्राहकलाई विभिन्न बैंकिङ सेवामा आकर्षित गरी आम्दानीका स्रोतको विविधीकरण गर्न सहयोग पुर्याउँछ। ग्राहकको व्यवहार र वित्तीय आवश्यकताको गहिरो विश्लेषण गरी व्यक्तिगत सेवा र उत्पादनको पहिचान गरेर ग्राहक संख्या वृद्धि तथा दिगो र दीर्घकालीन हिसाबले ग्राहकलाई बैंकसँग जोड्न मद्दत गर्दछ।
जेनएआईको प्रयोगले बैंकहरूले खर्चमा मितव्ययिता हासिल गर्न सक्दछन्। बैंकको म्यानुअल काममा लाग्ने समय र स्रोत तथा विभिन्न प्रक्रियालाई स्वचालित बनाउन दस्तावेजको डिजिटल व्यवस्थापनले कर्मचारीको कार्यभार कम गर्दै प्रभावकारी सेवा प्रदान गर्न सक्छ। यसले बैंकको सञ्चालन लागत घटाउँदै सेवा गुणस्तर पनि सुधार गर्दछ। त्यसैगरी, बजारको ट्रेण्ड र ग्राहकको व्यवहारको अध्ययन गरेर जेनएआईले अनावश्यक खर्च कटौती गरी दीर्घकालीन मितव्ययिता हासिल गर्न सक्षम बनाउँछ।
८. वित्तीय सेवाको प्रविधीकरणः जनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगले ग्राहकको वित्तीय आवश्यकताको गहिरो विश्लेषण गरी उनीहरूको आवश्यकता र प्राथमिकताअनुसार नयाँ उत्पादन र सेवा विकास गर्न मद्दत गर्दछ। वित्तीय सेवामा नवीनता ल्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ। उदाहरणका लागि जेनएआईले व्यक्तिगत बचत योजना ऋणका लागि अनुकूल ब्याज दर र लगानी विकल्पको सिफारिस गर्न सक्छ। यसले ग्राहकलाई आकर्षित गर्ने र बैंकको प्रतिस्पर्धात्मक क्षमता बढाउने काम गर्दछ।
जेनएआईले डिजिटल वित्तीय सेवालाई थप प्रभावकारी र प्रयोगकर्ता मैत्री बनाउन सहयोग पुर्याउनुका साथै स्मार्ट कन्फिगुरेसन भएका मोबाइल एप्स, अनलाइन बैंकिङ प्लेटफर्म र भर्चुअल मध्यम र प्रविधिबाट ग्राहकलाई छिटो र सहज रूपमा सेवा प्रदान गर्ने मात्र होइन, उनीहरूको अनुभवलाई व्यक्तिगत बनाउने काम पनि गर्छद।
९. उन्नत मार्केटिङ रणनीतिः जेनएआईले ग्राहकको व्यवहार, प्राथमिकता र वित्तीय गतिविधिको गहिरो विश्लेषण गरी व्यक्तिगत मार्केटिङ अभियान तयार गर्न मद्दत गर्दछ। साथै, बैंकहरूले उन्नत मार्केटिङ रणनीति विकास गर्न सक्छन्। उदाहरणका लागि, जेनएआईले ग्राहकको खरिद इतिहास र रुचिको आधारमा सही प्रोडक्ट्स र सेवाको सिफारिस गर्न सक्छ। यसले ग्राहकसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँछ। जसले मार्केटिङ अभियानको प्रभावकारिता बढाउँछ।
त्यसैगरी, जेनएआईले बैंकलाई मल्टी च्यानल मार्केटिङ अभियान सञ्चालन गरी डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र इमेल मार्केटिङमा जेनएआईको प्रयोगले सही समयमा तथ्यपूर्ण सन्देश सम्बन्धित ग्राहकसम्म पुर्याउन मद्दत गर्दछ। साथै, मार्केटिङ अभियानको प्रदर्शनको वास्तविक समय विश्लेषण गरी सुधार्न सुझाव दिन सक्दछ।
१०. कर्मचारी प्रशिक्षण र वृद्धि विकासः जेनएआईले कर्मचारीलाई आवश्यक पर्ने विशिष्ट सीप पहिचान गरी तिनका लागि उपयुक्त पाठ्यक्रम र स्रोतको सिफारिस गर्न सक्छद। जसले कर्मचारी प्रशिक्षण र वृद्धि विकासमा उल्लेखनीय सुधार गर्न सक्छ। प्रत्येक कर्मचारीको सीप, ज्ञान र भूमिकाको विश्लेषण गरी व्यक्तिगत प्रशिक्षण योजना तयार गर्न सक्छ।
यसबाहेक, जेनएआईले भर्चुअल ट्रेनिङ प्लेटफर्म र सिमुलेशन कार्यक्रम निर्माण गर्न मद्दत गर्दछ। यसले कर्मचारीहरूलाई वास्तविक कार्य परिस्थितिमा आधारित अभ्यास गर्न र नयाँ प्रविधिको प्रयोग गर्न सक्षम बनाउनुका साथै कर्मचारीको प्रगति निगरानी गर्न र तिनका लागि सुधारका उपायहरू सिफारिस गर्न सक्छ।
जेनएआईले ग्राहकको व्यवहार, प्राथमिकता र वित्तीय गतिविधिको गहिरो विश्लेषण गरी व्यक्तिगत मार्केटिङ अभियान तयार गर्न मद्दत गर्दछ। साथै, बैंकहरूले उन्नत मार्केटिङ रणनीति विकास गर्न सक्छन्। उदाहरणका लागि, जेनएआईले ग्राहकको खरिद इतिहास र रुचिको आधारमा सही प्रोडक्ट्स र सेवाको सिफारिस गर्न सक्छ।
जटिलताको व्यवस्थापनः वित्तीय सेवामा एआईका सीमितता
जेनएआईको प्रयोगले बैंकिङ क्षेत्रमा आउँदै गरेको महत्वपूर्ण परिवर्तन र उन्नत सेवाका अवसरसँगै यसका अन्तर्निहित सीमालाई मनन गरी अगाडि बढ्नु आजको आवश्यकता पनि हो। प्रविधिको दुनियाँमा जेनएआईको उदय सुखद र विशेष अविष्कार भए पनि कहिलेकाहीँ निर्णय प्रक्रियाको सवलमा उपलब्ध डेटाको प्रोसेसिङबाट हुने ‘ब्ल्याक बक्स’ प्रकृतिबाट निर्णयको सम्भावित द्विविधा र त्यसले निम्त्याउने जटिल चुनौतीको सावधानीपूर्वक विचार गरी प्राकृतिक बौद्धिकतामार्फत समाधान गर्नुपर्ने अवस्था पनि आउन सक्छ।
योसँगै अहिलेको प्रतिस्पर्धात्मक दुनियाँमा विशेषगरी बिग डाटा र डेटा टेक्नोलोजीको युगमा बैंकभित्रका आन्तरिक डेटाको गोपनीयता अर्को चुनौतीको रुपमा देखिन्छ। एआईको सीमाको सन्दर्भमा कुरा गर्दा अधिकतम प्रयोगले आम मानिसहरूको रोजगारीका अवसरमा पनि नकारात्मक असर पर्ने आंकलन गरिएको छ। यद्यपि, जेनएआईको प्रयोग बैंकिङ जगतका लागि अपनाउने रणनीति रहेको छ। यसले बैंकको सञ्चालन क्षमता तथा प्रभावकारिता बढाउँछ वा यो स्थापित बैंकिङको इतिहासका परम्परागत आधारभूत मान्यता र सिद्धान्तहरूलाई चुनौती दिने ‘अवरोधात्मक शक्ति’ हो भन्ने कोणबाट पनि छलफल भइरहेका छन्।
बैंकरहरूले जेनएआईको प्रयोगलाई आधुनिक बैंकिङको अस्तित्वलाई खतरा नभई यसले बैंकिङका आधारभूत मान्यतालाई कायम राख्दै बैंकिङका स्तम्भलाई अझ बढी दक्ष र सक्षम बनाउने माध्यमको रूपमा बैंक तथा वित्तीय क्षेत्रको रणनीतिक योजनाका लागि महत्वपूर्ण विषय बन्ने छ। समग्र अर्थतन्त्रको प्रविधिगत उत्थानको रूपमा एउटा महत्वपूर्ण कोशे ढुंगाको रुपमा रहनेछ भन्ने विश्वास गरेका छन्।