काठमाडौं। केही सातादेखि खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानमा लगाएको प्रतिबन्धको प्रतिवादमा एयरलाइन्स कम्पनी पनि उत्रिएका छन्।
खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा लगाउँदै आएको हेलिकोप्टर उडान अवरोध नखुलाए माघ ९ देखि एयरलाइन्सले सम्पूर्ण उडान रोक्ने निर्णयमा पुगेको वायुुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जानकारी दिए।
गाउँपालिकाले हेलिकोप्टर उडानमा रोक लगाएसँगै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले माघ ११ गते सरोकारवालाबीच समन्वय बैठक आह्वान गरेको छ। वायुसेवा सञ्चालक संघले समन्वय बैठकको २ दिन अघि अर्थात ९ गते सम्ममा पूर्ण सुरक्षा प्रत्याभूत गरी हेलिकोप्टर उडानमा रहेको अवरोध नहटाए त्यस क्षेत्रमा सम्पूर्ण एयरलाइन्सको उडान रोक्ने चेतावनी दिएको हो।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पुस २२ गते नै हेलिकोप्टर उडानमा बाधा–अवरोध गर्नेलाई कानुनअनुसार कारबाही गर्ने र निकुञ्जले सेवा उपलब्ध गराइरहेका हेलिकोप्टर निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी नियमअनुसार तोकिएको राजश्व बुझाई कानुनअनुसार सुरक्षित तवरले उडान, अवतरण गर्न/गराउन दिएको निर्देशन दिए पनि हालसम्म विभिन्न हेलिप्याडमा अवरोध रहेकाले तत्काल हटाउन आग्रह गरेको छ।
हेलिकोप्टर उडान प्रतिबन्धले वायुसेवा सञ्चालक कम्पनीलाई आर्थिक नोक्सानी हुनुका साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक असर पर्न गएको, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि नेपाल आउनेलगायतका पर्यटले गन्तव्य परिवर्तन गरी अन्य मुलुकतर्फ जान लागेको भन्दै तत्काल समस्या समधान गर्न अध्यक्ष कार्कीको आग्रह छ।
विद्यमान समस्याको कारण कोभिड महामारीपछि पनि यमा फर्कन संघर्षरत पर्यटन व्यवसाय नै धराशयी हुनुका साथै राष्ट्रको विदेशी मुद्रा आर्जन तथा राजश्वमा समेत असर पर्ने भएकाले उक्त क्षेत्रको उडान निर्वाध सञ्चालन गर्न अत्यावश्यक रहेको उनको भनाइ छ।
खुम्बु पासाङ ल्हामु क्षेत्रमा हेलिकोप्टर उडानमा भएको अवरोध हटाउन पर्यटन, वन, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत सम्पूर्ण निकायलाई अनुरोध गरिएको जनाएको छ।