काठमाडौं। अघिल्लो वर्षदेखि सुस्ताएको घरजग्गाको कारोबार पुनः चलायमान हुन थालेको छ। घरजग्गा कारोबार चलायमान हुँदा बैंकलाई व्यवसाय विस्तारमा सहयोग पुगेको छ। चालु आर्थिक वर्षको ५ महिनामा बैंकले घरजग्गाको क्षेत्रमा २० अर्ब ३४ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन्।
गत असार मसान्तदेखि मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)ले घरजग्गाको क्षेत्रमा कुल ६ खर्ब ५५ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जुन चालु वर्षको मंसिर मसान्तसम्म आइपुग्दा ६ खर्ब ७५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
एक वर्षको अवधिमा अर्थात् गत वर्षको मंसिर मसान्तको तुलनामा चालु वर्षको मंसिरमा भने यस्तो कर्जा प्रवाह ८.६२ प्रतिशतले वृद्धि भएको हो। गत वर्षको मंसिरमा बैंकले घरजग्गाको क्षेत्रमा ६ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
चालु वर्षको ५ महिनामा घरजग्गाको कारोबार बढेसँगै बैंकको ऋण प्रवाह पनि अर्बौं रुपैयाँले बढेको देखिन्छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु वर्षको ५ महिनामै करिब २ लाख लिखत पारित भएका छन्। साउन महिनादेखि मंसिरसम्म १ लाख ८४ हजार ५३ वटा लिखत पारित भएको विभागले जनाएको छ।
जसमध्ये साउनमा ४३ हजार ८३५, भदौमा ३२ हजार ७९८, असोजमा ३० हजार ५२७, कार्तिकमा ३३ हजार ५१४ र मंसिर महिनामै ४३ हजार ३७९ वटा लिखत पारित भएका हुन्।
कोभिड कालपछिको निराश-आशामा परिणत हुँदै
कोभिड कालदेखि खस्किएको घरजग्गाको कारोबार वर्ष २०७९ मा आइपुग्दा मन्दी नै छाएको थियो। कोभिड सुरु हुनअघि २०७७ मंसिरमा भएको घरजग्गा कारोबार २०७९ मंसिरमा आइपुग्दा ५० प्रतिशत बढीले घटेको थियो। २०७७ मंसिमा ६१ हजार ४५१ लिखत पारित भएकोमा २०७९ मंसिरमा ५२.५१ प्रतिशतले घटेर २९ हजार १८४ वटामात्रै लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ।
कोभिड कालपछि समग्र अर्थतन्त्रमा आएको मन्दीको प्रभाव घरजग्गाको क्षेत्रमा परेको थियो। जसले कोभिड कालपछि वर्षेनी घरजग्गाको कारोबार घटिरहेको थियो। तर, पछिल्लो २ वर्षयता घरजग्गाको व्यवसायले गति लिन थालेको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विष्णु प्रसाद घिमिरे बताउँछन्।
‘विगतका वर्षभन्दा अहिले केही आशा जाग्ने गरी कारोबार बढिरहेको छ। लिखत पारितको तथ्यांक र बैंकको ऋण वृद्धि हेर्दा व्यवसायले पुनः गति लिन थालेको देखिन्छ,’ संघका अध्यक्ष घिमिरेले भने, ‘अघिल्ला वर्षमा कारोबार नभएर मन्दीको अवस्थामा रहँदा पनि घरजग्गाको मूल्य भने घटेको थिएन। अब कारोबार बढ्न थालेपछि मूल्यको अवस्था पहिलेको भन्दा राम्रो हुन्छ सक्ने सम्भावना होला।’
अहिले काठमाडौंभन्दा अन्य जिल्लामा घरजग्गा कारोबार बढेको उनले जानकारी दिए। यद्यपि, बैंक ऋण लिएर घरजग्गा खरिदका लागि भने नीतिगत कठिनाइ हुँदा आवश्यकताको आधारमा बैंकबाट कर्जा दिन नसकिएको घिमिरे बताउँछन्।
‘ऋण लिन राष्ट्र बैंकले तोकको मूल्यांकन र आम्दानी सीमा व्यवहारिक नहुँदा ऋण लिन क्षमता भएको आवश्यक पर्नेले पनि बैंकबाट ऋण पाउन सकिरहेका छैनन्। यसमा राष्ट्र बैंकले कर्जा नीति र सरकारले कर नीतिमा लचकता अपनाउन आवश्यक छ,’ उनले थपे।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार २०८१ मंसिरमा ४३ हजार ३७९ वटा लिखत पारित भएका छन्। यो २०७९ मंसिर महिनाको तुलनामा ४८.६४ प्रतिशत धेरै हो। कोभिड कालपछि कुनै महिनामा मुस्किलले १२ हजार लिखत पारित हुने अवस्थाबाट अहिले मासिक ३०-४० हजार वटा लिखत पारित हुनु घरजग्गाले गति लिएको प्रष्ट भएको घिमिरेको भनाइ छ। तर, अपेक्षित रुपमा व्यवसायमा सुधार आउनका लागि सम्बन्धित निकायले नीतिगत सहजीकरण गर्नुपर्ने उनको बुझाइ छ।
गत मंसिरमा सबैभन्दा बढी सुनसरी, मोरङ, झापा, कैलाली र धनुषामा एक हजार बढी घरजग्गाको कारोबार भएको थियो। उक्त महिना सबैभन्दा बढी सुनसरीमा घरजग्गाको कारोबार हुँदा सबैभन्दा कम गोरखाको सिर्दिवासमा भएको थियो। साथै, कार्तिक महिनामा पनि सुनसरी, मोरङ, धनुषा र सप्तरी हजार बढी, असोजमा सुनसरी, धनुषा र मोरङमा, भदौमा सुनसरी, झापा, धनुषा र सप्तरीमा, साउन महिनामा सुनसरी, सप्तरी, मोरङ, झापा, धनुषा र सर्लाहीमा एक हजारभन्दा धेरै वटा लिखत पारित भएको थियो। यस्तो तथ्यांकले चालु वर्षमा सबैभन्दा बढी सुनसरी, मोरङ, झापा र धनुषामा घरजग्गाको कारोबार भइरहेको पुष्टि हुन्छ।