काठमाडौं। मुलुकको व्यावसायिक वातावरण सुधारका लागि सरकारले एकैसाथ दर्जनौं कानुन संशोधन गरेपछि निजी क्षेत्र खुसी देखिएको छ।
मुलुकमा सरकारी नीति नियमको कारण कतिपय क्षेत्रमा लगानी विस्तार हुन नसकेको, भएको लगानी समस्यामा परेको र नयाँ लगानी वातावरण नभएको गुनासो निजी क्षेत्रले गरिरहेको बेला सरकारले अध्यादेशमार्फत विभिन्न कानुन संशोधन गरिदिएपछि व्यवसायी हौसिएका हुन्।
सरकारले एकसाथ चार अध्यादेशमार्फत कानुन संशोधन गर्दै व्यावसायिक वातावरण निर्माण गरेको र निजी क्षेत्रको मागलाई सम्बोद्धन गरेको भन्दै बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधि धन्यवाद दिन पुगेका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, भौतिक मन्त्री देवेन्द्र दाहाल सहितको मन्त्रीहरूलाई सामूहिक रुपमा भेट गरी निजी क्षेत्रको तर्फबाट धन्यवाद दिएका हुन्।
प्रधानमन्त्री ओलीले बिग्रिएको अर्थतन्त्र सुधारका लागि आवश्यक कानुन संशोधन गरिएको बताउँदै निर्धक्क भएर काम गर्न निजी क्षेत्रलाई अनुरोध गरे। निजी क्षेत्रका प्रतिनिधिसँग खुुसी–भावमा देखिएका ओलीले निजी क्षेत्रको साथबिना मुलुकको अर्थतन्त्र सुधार गर्न नसकिने बताउँदै अप्ठ्यारा कानुन संशोधन गरिएको र थप आवश्यकता परे जानकारी गराउन अनुरोध गरेका थिए।
‘तपाईंहरूलाई कुनै असहज र अप्ठ्याराे परे सीधै मलाई सम्झन सक्नुहुन्छ,‘ निजी क्षेत्रका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘सकेसम्म सम्बन्धित मन्त्रालयबाट समस्या समधान हुन्छ, त्यहाँबाट नभए सीधै मलाई भेट्नुस, तपाईंहरूका समस्या तत्कालै सम्बोद्धन गर्छु।’
सरकारले निजी क्षेत्रलाई बाधा हुनेखाले सबै नियम कानुन सहज बनाउँदै लगानी वातावरण बनाइसकेकाले ढुक्क भएर आफ्नो व्यापार व्यवसाय गर्न उनले सुझाए।
प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रका प्रतिनिधिले अध्यादेशमार्फत संशोधन भएका कानुन तत्कालै निर्देशिका बनाएर कार्यान्वयनमा लैजाने वातावरण सिर्जना गर्न अनुरोध गरेकाे उद्योग वाणिज्य महासंघ उपाध्यक्ष हेमराज ढकालले जानकारी दिए।
‘गत वैशाखकाे लगानी सम्मेलनका बेला संशोधन भएका ८ वटा कानुन अहिलेसम्म निर्देशिका तयार नभएको भन्ने गुनासो प्रधानमन्त्रीसामु राख्यौं,’ उपाध्यक्ष ढकालले भने, ‘त्यही नियति अहिलेको अध्यादेशमा नदोहोरियोस् भनेका छौं।’ निजी क्षेत्रको गुनासोलगत्तै प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरूलाई निर्देशिका तयार पार्न कर्मचारी खटाउन निर्देशन दिएको उनले बताए।
नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले अध्यादेशमार्फत गरिएका बाधाअड्चन फुकाइले निजी क्षेत्रमा उत्साह जगाएकाले प्रधानमन्त्रीलाई धन्यवाद दिए। लामो समयदेखि सरकारलाई कानुनमा रहेका बाधाअड्चन फुकाउन अनुरोध गरिरहँदा बेवास्ता भइरहे पनि अहिलेको सरकारले निजी क्षेत्रको मागलाई सम्बोधन गरेकामा प्रधानमन्त्री ओलीलाई भेटेर धन्यवाद दिइएको उनकाे भनाइ छ।
‘समस्यामा रहेको अर्थतन्त्र चलायमान बनाउन सरकारले देखाएको तदारुकता प्रशंसायोग्य छ,’ प्रधानमन्त्रीसँगको भेटपछि वरिष्ठ उपाध्यक्ष मल्होत्राले भने, ‘यो ऐतिहासिक अध्यादेश हो, निजी क्षेत्रले पोजेटिभ रुपमा हेरेको छ र असल अभिभावक सरकार हो भन्ने महसुस भएको छ।’
निजी क्षेत्रको बाँकी समस्या केही रहे सरकारलाई दिनसमेत प्रधानमन्त्री ओलीले अनुरोध गरेको उनले बताए। ‘हामी निजी क्षेत्रका संघसंस्था एक ठाउँ बसेर बाँकी काम के-के बाँकी छन्, टुंगो लगाएर पुनः सरकारलाई बुझाउनेछौं,’ वरिष्ठ उपाध्यक्ष मल्होत्राले भने।
प्रधानमन्त्रीलाई धन्यवाद दिन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल, चेम्बर अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासंघ अध्यक्ष भगीरथ सापकोटालगायत पुगेका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् सिफारिसमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन), अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ जारी गरेका थिए। भूमिसम्बन्धी ऐन भने केही दिनभित्रै प्रमाणीकरण हुने जनाइएको छ।
सत्ता साझेदार कांग्रेस तथा एमालेले गठन गरेको व्यावसायिक वातावरण सुधारका लागि कानुन सुधार कार्यदलको सिफारिसबमोजिम सरकारले अध्यादेश ल्याएको हो।