काठमाडौं। सरकारले अध्यादेशमार्फत संसद् छलेर विधेयक ल्याएपछि दबाब दिन सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालयमा ६ विपक्षी दलको बैठक बसेको छ।
बैठकले तत्काल हिउँदे अधिवेशन बोलाउन माग गर्दै सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको आरोप लगाएको छ।
बैठकमा सरकारले हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरिरहेकाले तत्काल बोलाउन दबाब दिने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए। संसद् छलेर सरकारले अध्यादेश ल्याएको विषयमा पनि बैठकमा छलफल भएको उनको भनाइ छ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको आह्वानमा बैठक बसेको हो।
संसद् अधिवेशन नबोलाउने तर अध्यादेशबाट शासन चलाउन खोज्ने सरकारको कार्यशैलीप्रति सबै विपक्षी दलको एकमतमा विरोध गरेको बैठकपछि अर्यालले पत्रकारलाई जानकारी दिए। बैठकले सदनमा विचाराधीन विधेयक अध्यादेशका रूपमा जारी भएकाले यसलाई गैरसंवैधानिक ठहर गरेको छ।
बैठकमा माअोवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, राप्रपा, आमजनता पार्टीलगायत दलका शीर्ष नेता सहभागी थिए।
बैठकमा दाहाल, रास्वपा कार्यवाहक सभापति अर्याल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेताहरू सहभागी थिए।
बैठकले सरकारका काम–कारबाहीबारे साझा धारणा बनाउन दुई सदस्य कार्यदल गठन गरेको छ। कार्यदलमा माओवादीका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा. वेदुराम भुसाल रहेका छन्।