माघे संक्रान्ति अवसर पारेर पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रमा मंगलबारदेखि सुरु भएको रिडी मेला एक सातासम्म चल्नेछ। रिडी (रुरु) क्षेत्रमा नुहाए पुण्य प्राप्त गरिने विश्वासले बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लाग्क्ष्ने गर्छ। रिडीमा स्नान गरेर पुण्य कमाउनुका साथै व्यापारका लागि पनि व्यापारी अाउने गर्छन्। संक्रान्ति अवसरमा व्यापार–व्यवसाय गर्न पाल्पा, बाग्लुङ, रूकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीका लागि रिडी आएका छन् । रोल्पा, रूकुम सल्यान, प्यूठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङलगायत जिल्लाका व्यापारीले राडीपाखी, कम्बल, बाँसका सामग्री, जडीबुटी बिक्री गर्न रिडीमा आउने गर्छन्।
नेपालका विभिन्न स्थानसहित भारतबाट आएका भक्तजनका कारण रिडी क्षेत्रमा चहलपहल बढाेकाे छ। माघेसंक्रान्तिमा रूरू क्षेत्रको दर्शन गरी कालीगण्डकीमा स्नान गरे पुण्य प्राप्त गरिने धार्मिक विश्वास छ। रिडी आउने भक्तजनले कालीगण्डकीमा नुहाएर अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने परम्परा छ। पहिलो दिन जेठी, दोस्रो दिन माहिली, तेस्रो दिन कान्छी संक्रान्ति मेला लाग्ने गरेको रूरू क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम भट्टरारईले बताए। सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान् ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई यहाँ प्रतिस्थापन गरेको किंवदन्ती रहेको छ।
हेरौ पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरू क्षेत्रको माघी
तस्बिरः नेपाल फोटो लाइब्रेरी