काठमाडौं। ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ग्लोकल स्किल वीक २०२५ सम्पन्न भएको छ। कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य एवं विज्ञान तथा प्रविधि गरी चार फरक क्षेत्रका सीप प्रदर्शन गरिएको थियो।
कार्यक्रममा चार विधाका चार प्रेरक व्यक्तित्वलाई ग्लोकल स्किल हिरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो। कलाको पहिलो स्तम्भअन्तर्गत गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको थियो। उनी २०२४ मा स्पटिफाइमा सर्वाधिक सुनिने नेपाली गायक हुन्।
त्यसैगरी उद्यमशीलता विधामा स्किल हिरोको रूपमा सामाजिक उद्यमी र खाली सिसी म्यानेजमेन्ट प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरियो। आयुषी २०१८ मा फोब्र्सको ३० अन्डर ३०, एसियाको सामाजिक उद्यमी वर्गमा पर्न सफल भएकी थिइन्।
पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल समीर थापालाई सम्मानित गरियो। उनले नेपालको पहिलो निजी होटल म्यानेजमेन्ट स्कुल खोल्ने र बिम्पी–(अन्तर्राष्ट्रिय फास्ट–फुड फ्रान्चाइजी) को सुरुआत गरेका थिए।
विज्ञान तथा प्रविधि विधामा सानुकाजी श्रेष्ठ सम्मानित भए। उनले सानैदेखि गर्मी मौसमसँग लड्न बाँसबाट बन्ने लचिलो फ्यान लगायत व्यावहारिक आविष्कार सिर्जना गरेका छन्। १८ वर्षको उमेरदेखि लजिस्टिकमा काम गर्न थालेका सानुकाजीले सरकारी कार्यालय, कूटनीतिक नियोग, निगम र युएनडिपीमा विविध अनुभव हासिल गरेका छन्।
सोही दिन समापन समारोह लक्षित दिगो भविष्यः सीप, शिक्षा र हरित अर्थतन्त्र शीर्षकमा सीईओ अनप्लग्ड २०२५ नामक प्यानल डिस्कसन पनि सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा व्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व र नवआगन्तुक व्यापारपारखीलाई मार्ग दिशा प्रदान गर्ने विषयमा बहस गरिएको थियो।
टुडे मीट्स टुमरो थिममा सञ्चालित उक्त सीईओ अनप्लग्डको प्यानल डिस्कसनमा नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जो, पद्मज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सीप तथा तालिम महाशाखा प्रमुख एवम् उपसचिव श्री डम्बर सुनवार सहभागी थिए।
मध्यस्थकर्ताको रुपमा युनिभर्सिटी अफ रोह्याम्प्टनका प्रोफेसर एवं भाइस चान्सलर तथा एम्बार्क कलेजका प्रिन्सिपल प्रोफेसर स्टीफन ड्राइभर रहेका थिए। इम्बार्क कलेजले सञ्चालन गरेको उक्त ग्लोकल स्किल वीकमा सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेका थिए।
नेपाल पर्यटन बोर्डले प्रोमोट गरेको थियो भने युरोपियन युनियन, भारतीय दूतावास र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदारको रुपमा सहभागी थिए। त्यस्तै होन्डा, कोका–कोला, डब्लुडब्लुएफ र सिजी मोटर्स पार्टनरको रुपमा सहभागी थिए। कार्यक्रमका प्राविधिक साझेदारको रुपमा यूएनडीपी र यूके स्किल्स पार्टनरशिप थिए । होटल पार्टनर द सोल्टी काठमाडौं रहेको थियो भने इन्टरनेट पार्टनर वल्र्डलिंक थियो।
यती एयरलाइन्स, एयरलाइन्स पार्टनर थियो र नो नेक्स्ट क्वेस्चन आउटरिच पार्टनर रहेका थिए।
एक सातासम्म सञ्चालन गरिएको ग्लोकल स्किल वीकमा सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडी एवं विभिन्न मनोरन्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो। कलकारखाना, शैक्षिक संस्था एवं विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिई सीपमूलक रोजगारी अवसर, सीपप्रतिको बढदोे महत्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्यका साथ पुस २२ देखि २९ सम्म स्किल वीक कार्यक्रम सञ्चालन भएको थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सीप र रोजगारीलाई जोड्ने तरिका खोज्नुपर्नेमा जोड दिए।कार्यक्रममा उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० बढी उपस्थित थिए।