काठमाडौं। लामो समयको प्रतिक्षापछि अन्ततः होटलले उद्योगको मान्यता पाएको छ। अर्बौं लगानी गर्दै लाखौँलाई रोजगारी दिँदै आए पनि उद्योगको मान्यता नदिएको भन्दै वर्षौंदेखि सरकारसँग उत्पादनमूलक क्षेत्रमा पारिदिन लविङ गरिरहेको बेला औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा राखेको हो।
सत्ता साझेदार नेपाली कांग्रेस तथा नेकपा एमालेले गठन गरेको व्यवसायिक वातावरण सुधारका लागि कानून सुधार कार्यदलको सिफारिसबमोजिम सरकारले अघि बढाएको विभिन्न अध्यादेशमा औद्योगिक व्यवसाय ऐन २०७६ को संशोधन प्रस्तावमा तारे होटल र पर्यटन रिसोर्टलाई वर्गीकृत गरेको हो। मन्त्रिपरिषद्को बैठकबाट यो अध्यादेश पास भए पनि पारितका लागि राष्ट्रपति कार्यालयमा पठाउन बाँकी छ। यदि, मन्त्रिपरिषदले पठाएको प्रस्तावमा कुनै पनि फेरबदल नभई प्रमाणीकरण भए तारे होटल र पर्यटन रिसोर्टले उत्पादनमूलक उद्योगको मान्यता पाउने छन्।
होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले उत्पादनमूलक उद्योगमा तारे होटल परेको आफुले पनि जानकारी पाएको बताउँदै प्रमाणीकरण भएर नआएसम्म केही भन्न नमिल्ने बताए। ‘मैले पाएको जानकारीमा उत्पादनमूलकमा होटल क्षेत्र परेको छ,’ उनले भने, ‘प्रमाणीकरण हुन बाँकी भएकाले अहिले के-के भयो भनेर भन्न मिल्दैन। यदि सुनेको कुरा सत्य हो भने हाम्रो लागि खुसीको विषय हो।’
होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगमा राख्ने प्रतिबद्धता आए पनि ऐन संशोधन भने हुन सकेको थिएन। तर, सरकारले अहिले ऐननै संशोधन गरी तारे होटललाई उत्पादनमूलक उद्योगमा राख्ने र त्यहीअनुसारको सेवा सुविधा दिने व्यवस्था गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले होटल क्षेत्रलाई उत्पादनमूलकमा राखेर पाउनुपर्ने सुविधा दिन तयार रहेको बताए। ‘उत्पादनमूलक क्षेत्रमा समावेश गरेर रोजगारी सिर्जना बढाउनुको साथै थप लगानीको वातावरण बनाउन सरकार सदैव तयार छ,’ उनले भने, ‘अहिलेको अध्यादेश पनि निजी क्षेत्रप्रति सरकारले देखाएको उदारता नै हो। यसबाट पनि थाहा हुन्छ सरकारको प्राथमिकता के हो भन्ने?’
वर्षौंदेखि जगडिएर बसेका कतिपय ऐनका कारण व्यवसायिक वातावरण बिग्रिरहेकाले त्यसलाई खारेज गर्दै सहज वातावरण निर्माण गर्ने सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।
राष्ट्रिय प्राथमिकता प्राप्त र उत्पादनमूलक उद्योगमा समेटिँदा पाइने सेवा सुविधा
औद्योगिक व्यवसाय ऐन, २०७६ ले पर्यटन सेवालाई उद्योगको मान्यता दिएको छ। पर्यटक आवास, मोटेल होटल, रिसोर्ट, बार तथा रेस्टुराँलाई पनि पर्यटन सेवाभित्र राखेको छ। तर, होटल व्यवसायीले राष्ट्रिय प्राथमिकता प्राप्त र उत्पादनमूलक उद्योगको मान्यता खोजिरहेका छन्। यस्ता उद्योगलाई औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सिफारिसमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न सुविधा तथा सहुलियत दिन सक्ने व्यवस्था ऐनमा छ।
हानका अध्यक्ष शाह राज्यले होटललाई उद्योगको मान्यता दिई उद्योगले पाउने सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताउँछन्। ‘पर्यटन क्षेत्रको विद्युत् खपतमा सहुलियत दर र करमा विशेष छुट आवश्यक छ,’ शाहले भने, ‘विद्युत खपत नियमावलीमा संशोधन गरी होटल उद्योगलाई विशेष विद्युत् महसुल कायम गराई उद्योगसरहको सुविधा दिनुपर्छ।’
होटलमा निजी क्षेत्रले ठूलो पुँजी लगानी गरी लाखौँलाई रोजगारी दिएकाले पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको क्षेत्रलाई पाखा राखिनु मुलुककै दुर्भाग्य भएको शाहको बुझाइ छ।
विश्व पर्यटन संगठनको एक सर्वेक्षणअनुसार एउटा पर्यटक नेपाल आउँदा प्रत्यक्ष तथा अप्रत्यक्ष ११ जनाले रोजगारी पाउँछन्। वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिल प्रतिवेदन, २०२४ मा पनि होटल तथा पर्यटन क्षेत्रमा झन्डै १२ लाखले रोजगारी पाएको उल्लेख छ। पर्यटन उद्योगको मेरुदण्ड होटल हो।
होटल उद्योगले उत्पादन अभिवृद्धि गर्न र कच्चा पदार्थ प्रशोधन गरी प्रत्यक्ष/अप्रत्यक्ष उत्पादन वृद्धि गरी पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा योगदान पुर्याएको हुन्छ। पर्यटकका कारण होटलमार्फत कृषि, यातायात, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, हस्तकला, घरेलु उद्योगको आपूर्ति शृङ्खला कायम राखी प्रत्यक्ष/अप्रत्यक्ष आर्थिक योगदान हुँदै आएको छ।
त्यसैगरी मुलुकमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्रका रुपमा होटल रहेको छ। नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभ लिन सक्ने क्षेत्र भएकाले पनि होटलले वस्तु तथा सेवा उपलब्ध गराएर विदेशी मुद्रा आर्जन गरिरहेका छन्। त्यसैले होटल व्यवसायीले निर्यात उद्योगले पाउने प्रोत्साहन होटलले पनि पाउनुपर्ने माग गर्दै आएका छन्।
होटलले तालिम तथा प्रशिक्षणमार्फत दक्ष जनशक्ति उत्पादन गर्ने भएकाले विश्व बजारमा आवश्यक प्रतिस्पर्धी र क्षमतायुक्त कामदार आपूर्तिमा समेत सहयोग गर्दै आएका छन्।
औद्योगिक व्यवसाय ऐनमा उद्योगलाई दिइएका सेवा सुविधा
– राष्ट्रिय प्राथमिकता उद्योग सञ्चालन गर्न सरकारी स्वामित्वको जग्गा आवश्यक परे सम्बन्धित उद्योगले आफूलाई आवश्यक पर्ने जग्गा क्षेत्रफल खुलाई जग्गा उपलब्ध गराउन उद्योग दर्ता गर्ने निकायमा निवेदन दिने व्यवस्था गरिएको छ।
– ऐनले वर्गीकरण गर्दै उत्पादनमूलक उद्योगभित्र कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी माल वस्तु उत्पादन गर्ने उद्योगलाई समेटिएको छ। व्यवसायीका अनुसार होटलको ४० प्रतिशत आम्दानीको स्रोत उत्पादन पक्ष हुने गरेको छ। कच्चा पदार्थमा आधारित उत्पादन हुने हुँदा अर्धप्रशोधित उत्पादनबाट होटल क्षेत्रले सेवा प्रवाह गरी आर्थिक लाभ लिने भएकाले होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगको श्रेणीमा राखिनुपर्छ।
– ऐनले उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करमा २० प्रतिशत छुट व्यवस्था गरेको छ। त्यस्तै, यस्ता उद्योगले आफ्नो उत्पादन निर्यात गरी आर्जित आयमा लाग्ने करमा ५ प्रतिशत छुट सुविधा दिएको छ। त्यति मात्र होइन, मदिराजन्य उत्पादन वाहेकका उत्पादनमूलक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले १० वर्षसम्म आयकरमा क्रमशः ९०, ८० र ७० प्रतिशत छुट व्यवस्था गरेको छ। यो सुविधा लिन व्यवसायीले होटललाई उत्पादनमूलक उद्योगमा समेट्न माग गर्दै आएका छन्।
– ऐनमा १ अर्बभन्दा बढी पुँजीमा खोलिने ५ सय बढीलाई वर्षभरि प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक वा सेवामूलक उद्योगलाई कारोबार सुरु भएको मितिले ५ वर्षसम्म पूर्ण रुपमा र त्यसपछिको तीन वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने व्यवस्था छ।
– उत्पादनमूलक उद्योगले आफ्नो कुल जनशक्तिमध्ये कम्तीमा १० प्रतिशत प्रशिक्षार्थी कामदार राखी प्रशिक्षण दिँदा दिइएको निर्वाह खर्च, प्रशिक्षण खर्च र उद्योगमा कार्यरत जनशक्तिको उत्पादन क्षमता विकासमा भएको खर्च रकम आयकर गणनाबाट कट्टी गर्न सकिने व्यवस्था पनि ऐनमा छ।
यो पनि पढ्नुस्।
https://www.capitalnepal.com/detail/53180
आतिथ्य क्षेत्रलाई अन्य उद्योगभन्दा माथि राखिनुपर्छ
https://www.capitalnepal.com/detail/54209
हस्पिटालिटी क्षेत्रमा भारतभन्दा नेपाल धेरै अगाडि
https://www.capitalnepal.com/detail/54128
सरकारी निकाय दर्ता र जरिमानामै केन्द्रित हुँदा होटल क्षेत्र मारमा
https://www.capitalnepal.com/detail/54250
पूर्वाधारबिनै वार्षिक ५० लाख पर्यटक कसरी आउलान्?
https://www.capitalnepal.com/detail/54344
होटल र पर्यटन विकास हरेक घरमा स्वरोजगार बढाउने आधार
https://www.capitalnepal.com/detail/53981
वेलनेस टुरिजम संसारभर फैलियो, नेपालमा ध्यान पुगेन
https://www.capitalnepal.com/detail/53776
होटलमा निजी क्षेत्रले जोखिम मोलेरै लगानी गर्दा सरकारी सहयोग खोइ? https://www.capitalnepal.com/detail/53640
कानुनले नियन्त्रण र नियमन चिन्छ, प्रोत्साहन चिन्दैन, कसरी हुन्छ पर्यटन प्रवर्द्धन?
https://www.capitalnepal.com/detail/53457
प्रकृतिले दिएको अनुपम उपहारको बजारीकरण नगरे वर्षौसम्म १२० डलरमा रुम बेचिरहनुपर्छ
https://www.capitalnepal.com/detail/53298
हाइड्रो इन्जिनियर प्रभा गौतमको ‘वाइल्डनेस कन्सेप्ट’ बुर्हान
https://www.capitalnepal.com/detail/53261
तथ्य र तथ्यांक हेरेर सरकारले पर्यटन क्षेत्रको महत्व बुझ्नुपर्छ
https://www.capitalnepal.com/detail/53212
होटलियर समिटमा उठान भएका विषय सुधार्न सकिए थप फाइदा
https://www.capitalnepal.com/detail/53201
लगानी निषेध नीति बनाएर बसेका छौं, कहाँबाट बढ्छ निजी क्षेत्रको मनोवल? https://www.capitalnepal.com/detail/53177
अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्रको विकासमा केन्द्रीय बैंक अनवरत लागिरहन्छ https://www.capitalnepal.com/detail/53170