काठमाडौं। नेपालको वित्तीय क्षेत्र बागमती प्रदेश केन्द्रित रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक अध्ययन प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाको कुल व्यवसायमध्ये आधाभन्दा बढी हिस्सा बागमती प्रदेशले ओगटेको देखाएको हो।
नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आ.व.२०८०/०८१)मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप र कर्जामध्ये बागमती प्रदेशको अंश सबैभन्दा बढी रहेको उल्लेख गरेको छ। गत वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेपमा बागमतीको अंश सबैभन्दा बढी ६६.७२ प्रतिशत रहेको छ।
यस्तै, कर्णाली प्रदेशको अंश सबैभन्दा कम १.१६ प्रतिशत मात्र रहेको छ। कुल निक्षेप परिचालनमा कोशीको ७.३७ प्रतिशत, मधेसको ५.३९ प्रतिशत, गण्डकीको ८.८२ प्रतिशत, लुम्बिनीको ८.८२ प्रतिशत र सुदूरपश्चिमको हिस्सा २.३० प्रतिशत रहेको छ।
यस्तै, उक्त अध्ययन प्रतिवेदनअनुसार गत वर्षमा प्रवाहित कुल कर्जामा बागमतीको अंश सबैभन्दा बढी ५७.८० प्रतिशत रहेको छ। सबैभन्दा कम कर्णालीको अंश १.१५ प्रतिशत रहेको छ। कुल कर्जा प्रवाहमध्ये कोशीको ११.२१ प्रतिशत, मधेशको ९.२७ प्रतिशत, गण्डकीको ६.७६ प्रतिशत, लुम्बिनीको १०.८६ प्रतिशत र सुदूरपश्चिमको २.९६ प्रतिशत रहेको छ।
कृषि क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी बागमतीको हिस्सा ३४.५६ प्रतिशत छ। सबैभन्दा कम कर्णालीको १.५५ प्रतिशत रहेको छ। साथै, विपन्न वर्गमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी बागमतीमा ४७.२६ प्रतिशत रहँदा सबैभन्दा कम कर्णालीमा १.४१ प्रतिशत रहेको छ। सहुलियतपूर्ण कर्जातर्फ सबैभन्दा बढी बागमतीमा ३५.२२ प्रतिशत र सबैभन्दा कम कर्णालीमा १.५७ प्रतिशत रहेको छ।
गत वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार ३५२ रहेको थियो। जसमध्ये सबैभन्दा बढी शाखा संख्या बागमतीमा ३ हजार ३८ रहेको छ। सबैभन्दा कम कर्णालीमा ४७५ रहेको छ। समीक्षा अवधिमा बैंकको शाखा कोशीमा १ हजार ८३७ वटा, मधेसमा १ हजार ५७९ वटा, गण्डकीमा १ हजार ४ सय, लुम्बिनीमा २ हजार १७५ र सुदूरपश्चिममा ८४८ वटा रहेको छ।
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमतीमा ६६ लाख १६ हजार ४६५ रहेको छ। सबैभन्दा कम कर्णालीमा ५ लाख १९ हजार ९२१ रहेको छ। इन्टरनेट बैंकिङ प्रयोगकर्ता सबैभन्दा बढी बागमतीमा ६ लाख ६८ हजार ६७२ र सबैभन्दा कम कर्णालीमा १५ हजार २९१ रहेको छ। डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या सबैभन्दा बढी बागमतीमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ। समीक्षा अवधिमा सबैभन्दा बढी पुर्नकर्जाको प्रवाह बागमतीमा २६.८६ र सबैभन्दा कम कर्णालीमा २.४५ प्रतिशत भएको छ।
त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा बढी शाखारहित बैकिङ सेवा कोशीमा २७३ र सबैभन्दा कम कर्णालीमा २८ तथा मधेसमा १३६ रहेको छ।
कुल गार्हस्थ्य उत्पादनमा प्रदेशको हिस्सा
राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मधेस प्रदेशको आर्थिक वृद्धिदर ३.७८ प्रतिशत रहने अनुमान छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) ७ खर्ब ४८ अर्ब रुपैयाँ पुग्ने अनुमान छ।
समीक्षा अवधिमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३५.३, १०.८ र ५३.९ प्रतिशत रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयबाट प्रकाशन भएको अनुमानित विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको सबैभन्दा बढी ३५.३ प्रतिशत योगदान मधेस प्रदेशको रहने अनुमान छ।
त्यसैगरी, उद्योग क्षेत्रको सबैभन्दा बढी योगदान गण्डकीको १६.८ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा बढी योगदान बागमतीको ७७.४ प्रतिशत रहेको छ। प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा कम बागमतीको १२ प्रतिशत रहने अनुमान छ।
उद्योग क्षेत्रको योगदान सबैभन्दा कम कर्णालीको ९.५ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा कम योगदान कोशीको ५०.९ प्रतिशत रहेको छ। मधेस प्रदेशमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३५.३ प्रतिशत, १०.७ प्रतिशत र ५३.९ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८०/०८१ को अनुमानित कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ५७ खर्ब ५ अर्ब रुपैयाँ रहने अनुमान रहेकोमा बागमतीको अंश सबैभन्दा बढी ३६.३६ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.२८ं प्रतिशत रहेको अनुमान छ।
साथै, कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा बढी गण्डकी प्रदेशमा ४.५५ प्रतिशत रहने अनुमान छ। सबैभन्दा कम वृद्धिदर कर्णाली प्रदेशमा ३.३९ प्रतिशत रहने अनुमान छ।