काठमाडौं। सरकार परिवर्तनसँगै फेरिने गरेको भूमि आयोगको जिल्ला अध्यक्ष सत्तारुढ एमाले, कांग्रेससहितका राजनीतिक दलले भागबन्डाबाट मिलाएका छन्। सरकारले ७७ मध्ये ५६ जिल्लामा भूमि आयोग गठन गरेको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका तोकिएका जिल्लामा भूमि आयोग अध्यक्ष नियुक्तिसहित आयोग गठन गरिएको जानकारी दिएका हुन्।
भूमिसुधार मन्त्रालयका अनुसार लुम्बिनीका १२, कर्णालीका ८, सुदूरपश्चिमका ७ जिल्ला, कोसी प्रदेशका १०, मधेसका ६, बागमतीका ८, गण्डकीका ५ जिल्लामा भूमि आयोग अध्यक्ष नियुक्त गरिएको छ। २१ जिल्लामा अध्यक्ष नियुक्ति बाँकी छ।
सरकारले बागमतीको दोलखा, धादिङ, चितवन र मकवानपुर, गण्डकीको गोरखा, कास्की, पर्वत, स्याङ्जा, म्याग्दी र बागलुङ, कोसीको तेह्रथुम, धनकुटा र सुनसरी, मधेसको सिरहा र रौतहट, कर्णालीको जुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बझाङ र कञ्चनपुर जिल्ला अध्यक्षको नियुक्ति बाँकी रहेको हो।
भूमि आयोगमा कांग्रेसले ३५, एमालेले ३५, जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्ला अध्यक्षको भागबन्डा पाएका छन्। काठमाडौं भूमि आयोगको जिल्ला अध्यक्षमा कृष्णजी खड्का नियुक्त भएका छन्।