काठमाडौं। विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका ५ किङरिङका २२ वर्षीय राजेन्द्र महतो अटोरिक्सा चलाएर जीवन चलाउँदै आएका छन्।
२०७७ वैशाख १८ गते दुर्घटनामा परी बायाँ खुट्टा गुमाएपछि उनलाई बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो। तर, दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुसी आएको उनी सुनाउँछन्।
दुर्घटनापछि उनको बायाँ खुट्टा घुँडामाथिसम्म काटिएको छ। केही समयसम्म वैशाखीको सहारामा हिँडेका उनी अहिले कृत्रिम खुट्टाको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन्। कृत्रिम खुट्टाको भरमा उनी दुई वर्षदेखि अटोरिक्सा चलाएर मनग्य आम्दानी गरिरहेका छन्।
‘दुर्घटनामा खुट्टा गुमाएपछि आफ्नै जीवन अभिसाप हुने भयो भन्ने लागेको थियो,’ उनले भने, ‘परिवारको सहारा र वडाले दिएको अटोरिक्साले फेरि परिवारको मेरुदण्ड बनेको छु। अटोरिक्सा चलाएर राम्रो कमाइ गरी ठूलो प्रगति गरेको छु।’
अटोरिक्सा चलाएर कमाएको पैसाले उनी पक्की घर बनाउन सफल भएका छन्। कृत्रिम खुट्टा हाल्न बेचेको खेतकै सिमानामा एक कठ्ठा घडेरी जोडिसकेको राजेन्द्रको भनाइ छ। अटोरिक्सा चलाउने उनले दैनिक ७ हजारसम्म कमाउने गरेका छन्।
‘दिनमा सय रुपैयाँको बिजुली खर्च हुन्छ,’ उनले भने, ‘आजसम्म कमाइ भएन भन्ने दिन आएको छैन।’ बजारको दिन त भ्याइनभ्याई हुने गरेको उनको अनुभव छ।
राजेन्द्रको उपचारमा २२ लाखभन्दा धेरै खर्च लागेको बुवा सन्तलाल महतो बताउँछन्। २०६० मा चिरान मिलले बुवा सन्तलालको हात काटिएपछि परिवारको पालनपोषणको जिम्मा राजेन्द्रको काँधमा आएको थियो।
दुई भाइ र एक बहिनी मध्यका जेठा उनले एक निजी दूध डेरीमा काम गरेर घर खर्च धान्दै आएका थिए। आफै दुर्घटनामा परेपछि परिवारको बिचल्ली भएको थियो।
दुर्घटनामा खुट्टा गुमाएपछि कसरी परिवार पालौँ भन्ने चिन्तामा रहेका राजेन्द्र वडाबाट पाएको अटोरिक्सा चलाउन थालेपछि दरिलो आड बनेर उभिन सफल भएका हुन्। राजेन्द्रको दुर्घटनापछि एक छोरा र एक छोरी जन्मिएका छन्।