काठमाडौं। माघका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन्। माघका लागि ब्याजदर प्रकाशित गरेका बैंकमध्ये अधिकांशले पुसकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।
माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर प्रकाशित गरेका २० बैंकमध्ये १७ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी दुईवटाले घटाएका छन्। यस्तै एक बैंकले बढाएको छ।
समग्रमा पुसको तुलनामा माघमा बैंकहरुको ब्याजदर ०.०१५५ प्रतिशत बिन्दुले घटेको छ।
नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्धती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट ५.५ प्रतिशतमा झारेको छ भने कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ।
लक्ष्मी सनराइजले यस्तो खाताको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको हो। माघमा पुसकै ब्याजदरलाई निरन्तरता दिने बैंकहरूमा सिटिजन्स, ग्लोबल आइएमई, नबिल, कुमारी, माछापुच्छ्रे रहेका छन्।
यस्तै, सिद्धार्थ, एभरेष्ट, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, प्रभु, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी र एनआइसी एसिया बैंकले पनि पुसकै ब्याजदरलाई निरन्तरता दिएका छन्।