काठमाडौं। पुँजी बजारसँग सम्बन्धित संघ–संगठनले टिएमएसमा देखिएको पटक–पटकको समस्यामा नियामक जिम्मेवार रहेको बताएका छन्।
चार सेयर लगानीकर्ताले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको पुँजी बजार सञ्चालन गर्ने नेपाल स्टक एक्सचेन्जको सिस्टममा देखिनुका कारण नियामक र माथिल्लो निकायहरुको कमजोरी भएको बताएका हुन्।
सिस्टममा आएको पटकपटकको खराबीका कारण लगानीकर्ता सेयर कारोबारबाट वञ्चित भएको उनीहरुको तर्क छ। ‘पुस २८ गते पनि आम लगानीकर्ताले समस्या झेल्नुपर्यो। टिएमए सर्भर नै डाउन भएको हुनाले कारोबार समयमा लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाएनन् यसले एकातिर आम समुदायमा सरकारले चलाउने सिस्टम कति भरपर्दो छ भन्ने कुरा पुष्टि गर्यो भने अर्कोतिर पटकपटक सिस्टमको खराबीले कारोबार रकममा संकुचन हुन गई सरकारले करोडौंको राजस्वसमेत गुमाउनु पर्यो,’ जारी विज्ञप्तिमा भनिएको छ।
जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा पटकपटक अवगत गराउँदासमेत नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड एवं अर्थ मन्त्रालयबाट गम्भीरताका साथ चासो नदिनु अत्यन्तै खेदजनक भएको उल्लेख गरेका छन्।
‘नेपाल स्टक एक्सचेन्जले आफ्नो सिस्टममा पटकपटक खराबी आउँदासमेत चासोपूर्वक समाधान गर्ने ठोस कार्य नगरेको र आम लगानीकर्ताहरुको ४५ खर्ब भन्दा माथिका सम्पतिको लेखा राख्ने सिस्टममा यस प्रकारको खराबीले आम लगानीकर्ताको सम्पतिको तथ्यांक कति सुरक्षित छ भन्ने प्रश्न चिन्ह समेत खड़ा भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
उनीहरुले यस सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लगायत सम्पूर्ण सरोकारवालासँग समस्या समाधानका लागि काम गर्न आग्रहसमेत गरेका छन्।