काठमाडौं। आर्थिक संकटसँगै सहरका व्यापारिक भवनका अधिकांश सटर खाली अवस्थामा छन्। कोरोना संक्रमणसँगै खाली भएका सटर आर्थिक गतिविधि चलायमान हुन नसक्दा अहिलेसम्म नभरिएका हुन्। व्यापार नभएर सटर बन्द हुँदा देशको अर्थतन्त्रसँगै घरधनीसमेत असरमा पारेका छन्।
काठमाडौं उपत्यकामा व्यवसाय गर्न योग्य झण्डै ४० प्रतिशत सटर खाली अवस्थामा छन्। कोरोना (कोभिड–१९) महामारीले नेपाल मात्रै नभई विश्व अर्थतन्त्रसमेत प्रभावित भएको छ। कोरोना महामारीसँगै आर्थिक संकटमा परेको नेपाली व्यवसायी पूर्ण रुपमा बाहिर आउन सकेको छैन। जसले देशको व्यापारिक क्षेत्र मानिने न्यूरोड, दरबार मार्ग, बानेश्वर, कोटेश्वरजस्ता ठाउँका सटर खाली भएको हो।
काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा हाल एक दर्जन सटर खाली भएको छ। सिटी सेन्टरका व्यवस्थापनका कर्मचारी कृष्ण भट्टराईले आर्थिक गतिविधि चलयमान हुन नसक्दा सटर खाली बसेको बताउँछन्। ‘अहिले आर्थिक संकटले सटर खाली छन्। व्यवसायसँगै कारोबार पनि घटिरहेको छ,’ भट्टराई भन्छन्, ‘सिटी सेन्टरमा लगभग २ महिनादेखि एक दर्जन सटर खाली अवस्थामा छन्।’ पछिल्लो समय अनलाइन व्यापार बढ्दै गएकाले सटरहरू खाली भएको उनी बताउँछन्।
पछिल्लो समय नेपाली युवाहरू रोजगारीसँगै उच्च शिक्षाका लागि देश छाड्दै गएका छन्। ठूलो संख्यामा युवाहरू पलायन हुँदा यसको प्रभाव व्यापारिक क्षेत्रमा समेत परेको हो। पछिल्लो समय त्रिभुव विमानस्थलबाट दैनिक ३ हजार युवा शिक्षा तथा रोजगारीका लागि प्रदेश पुगेका छन्।
‘अहिले नेपालमा सानो तिनो व्यावसाय गर्नलाई ५० लाखदेखि १ करोडसम्म लगानी लाग्छ। यत्रो लगानी गर्नलाई मानिससँग पैसा छैन। ऋण लिनका लागि बैंकको कर्जा तिर्न कठिन हुने अवस्थामा छ,’ उनले भने, ‘नेपालमा व्यावसाय गर्दा सामान्य जीवन गुजारा चलाउन सक्ने अवस्था छैन। त्यसैले मानिस आकर्षित नभएका हुन्।’
बजार महँगिएसँगै नेपालमा मानिस बस्न कठिन भएको उनको भनाइ थियो। मन्दीले सामानमा ४० प्रतिशत छुट दिँदासमेत व्यापार हुन नसकेका व्यापारीहरू बताउँछन्। कोरोना महामारीको बेला लामो समय पसल बन्द राख्नुपर्ने बाध्यताको मार व्यवसायीमाथि परेको थियो। यो समयमा साना तथा मझौला व्यवसायमा ठूलो क्षति हुँदा त्यसको प्रभाव अहिलेसम्म परेको हो।
आर्थिक मन्दीको असरमा खुद्रा व्यापारी, आयातकर्ता उद्योगीसमेत मारमा परेका छन्। आर्थिक गतिविधि चलायमान बनाउन बैंक तथा सहकारीको ऋण मिनाह गर्नुपर्ने वा सहुलियत दिनुपर्ने विषयको चर्चा उठ्दै आएको छ। व्यापार हुन नसकेपछि व्यवसाय गरिरहेकाहरू बाहिरिने गरेका छन्। जसले गर्दा व्यापारिक भवनले पनि ठूलो क्षति बेहोर्नु परेको हो।
देशभरका व्यापारिक मूख्य बजारका चोक र टोलका सटरमा ‘टूलेट’ सटर भाडामा, कोठा भाडामा भनेर राखेको पाइन्छ। यसबाट पनि नेपालको आर्थिक गतिविधि हालसम्म चलायमान हुन नसकेको देखिन्छ।
काडमाडौं, भक्तपुर ललितपुर तथा मुलुकका अन्य व्यापारीका ठाउँमा कुनै समय सटर पाउन मुस्किल भए पनि अहिले सटर लिने व्यापारीको अभाव भएको छ। आकर्षक व्यापारिक स्थानका रुपमा रहेको दरबार महलमा समेत सटर खाली हुन पुगेको छ। दरबार महल व्यापार कम्प्लेक्स व्यवस्थापक कर्मचारी रज्ञान श्रेष्ठ सटर मात्रै खाली नभएर व्यापार पनि संकुचनमा रहेको बताउँछन्।
‘हाल व्यापार नहुँदा व्यवसाय चलाउन निकै सकस परिरहेको छ। पछिल्लो समय आर्थिक संकट तथा बैंकको ब्याजदर उच्च रुपमा वृद्धि भएपछि व्यवसाय चलाउन नसक्दा व्यवसायी विदेश पलायन हुने क्रम बढेको छ। सटरसँगै गोदाम खाली भइरहेका छन्,’ उनले भने, ‘देशभरमा आर्थिक मन्दीका कारण धमाधम सटर खालि हुन थालेका छन्। नयाँ आर्थिक वर्षमा झन व्यापारिक सटर बन्द हुने क्रम बढेको छ।’