काठमाडौं। केई एक्स–३ प्रो मोडल किन्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन्। केईको आधिकारीक बिक्रेता जीओ अटोमोबाइलले शून्य प्रतिशत ब्याजदर स्किम सार्वजनिक गरेको हो। उक्त स्किमअनुसार केई एक्स–३ प्रो मोडल किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट बुझाएर बाँकी रकमबिना ब्याजमा ५ वर्षे कर्जा सुविधा पाउने छन्।
जीओ अटोमोवाइलले केई एक्स–३ प्रो मोडलको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकेको छ। जसअनुसार ग्राहकले सो मूल्यको २० प्रतिशत अर्थात् १० लाख ५९ हजार रुपैयाँ डाउन पेमेन्ट बुझाएर बाँकी रकमबिना ब्याजमा ५ वर्षे कर्जा सुविधा पाउने छन्।
२० प्रतिशत डाउन पेमेन्ट बुझाएपछि बाँकी रहेको ४२ लाख ३६ हजार ८०० रुपैयाँ कर्जा ग्राहकले ५ वर्षभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ। जसमा कुनै कर लाग्दैन। यसरी, बाँकी कर्जा मासिक ७० हजार ६१५ रुपैयाँको दरले बुझाउनुपर्ने हुन्छ। यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ। यसको अधिकतम टर्क २८० एनएम छ।
कम्पनीका अनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिन्छ। यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ। साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
एक्स–३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ। ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस छ। यो गाडीमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ।
केई एक्स–३ प्रोमा प्रयोग भएका सम्पूर्ण लाइट एलइडी छन्। १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ। गाडीमा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टमसँगै एडास फिचर यसमा छन्।