काठमाडौं। सोल्टीमोडमा सञ्चालनमा रहँदै आएको पाँचतारे होटल हायात प्लेस अपग्रेड भएर सेन्ट्रिक बन्दा २५ करोडभन्दा बढी लगानी थप भएको छ। दुई वर्षदेखि काठमाडौं सोल्टीमोडमा सञ्चालित पाँचतारे होटल हायात प्लेस ‘अपग्रेड’ (स्तरोन्नति) भएर लक्जरी ब्राण्ड ‘हायात सेन्ट्रिक’ बनाउन २५ करोडभन्दा बढी लगानी थप गरेको हो।
व्यवसायिक घराना गोल्यान ग्रुपका निर्देशक अक्षय गोल्यानले नेपालमा बढ्दो पर्यटकको ट्रेनलाई पछ्याउँदै लक्जरी होटलको रुपमा अपग्रेड गरिएको बताए। पछिल्लो समय नेपालमा लक्जरी प्रोपर्टी रुचाउने पर्यटकको आगमनमा वृद्धि भइरहेकाले यसैलाई ध्यानमा राखेर अपग्रेड गरिएको उनले बताए।
सेन्ट्रिक अमेरिकी होटल चेन हायातको लक्जरी ब्राण्ड हो। विश्वभरि ५९ होटल हायात सेन्ट्रिक नाममा सञ्चालन भइरहेका छन्। नेपालमा सञ्चालनमा आएसँगै संख्या यो संख्या ६० पुगेको छ। सबैभन्दा बढी अमेरिका र भारतमा यो ब्राण्डबाट होटल चलिरहेका छन्। नेपालमा यो पहिलो हो। छिमेकी भारत र चीनमा राम्रो उपस्थिति रहेको सेन्ट्रिकको नेपाल प्रवेशले ती देश जाने पर्यटकको रोजाइमा अब नेपाल पर्न सक्ने गोल्यानको भनाइ छ।
निर्देशक गोल्यानका अनुसार हाल रहेको लबी र स्विमिङ पुल एरियाको आर्किटेक्ट डिजाइन परिवर्तन गरिएको छ। लबीको एरिया बढेको छ भने स्विमिङ पुल नजिकै रहेको स्काइ बारको आर्किटेक्टमा परिवर्तन आएको छ। कोठामा पनि नेपालीपन झल्किने खालका इन्टेरियल थप गरिएको जनाएको छ। बच्चाका लागि छुट्टै खेल खेल्ने प्ले एरियासमेत बनाइएको छ।
‘पछिल्लो समय नेपालमा पर्यटक आगमन संख्या बढिरहेको छ। उनीहरूलाई अन्य होटलभन्दा पृथक सुविधा दिने उद्देश्यले ब्राण्ड अपग्रेड गरिएको हो।' निर्देशक गोल्यानले भने, ‘ब्राण्ड अपग्रेडका लागि आफूहरूले भन्दा व्यवस्थापन सम्हालिरहेको हायात इन्टरनेसनलकै सुझावअनुसार अगाडि बढेका हौंँ।’ संसारभर हायात प्लेस इकोनोमी क्लासको हो।
अपग्रेड भएसँगै बैंक्युट हलको क्षमता ३५० बाट बढाएर ६५० जना अट्ने बनेको छ। काठमाडौंभित्र सञ्चालनमा रहेका होटलमध्ये पृथक सेवा/सुविधा दिने उद्देश्य सेन्ट्रिकको रहेको जनाएको छ। कालिमाटी क्षेत्रमा सोल्टी होटलबाहेक पाँचतारे होटल सेन्ट्रिक मात्र भएकाले विदेशी ब्राण्ड खोज्नेका लागि सेन्ट्रिक उपयुक्त हुने उनको भनाइ थियो।
साढे १० रोपनी क्षेत्रफलमा डेढ वर्षअघि सञ्चालनमा आएको होटल साढे ४ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको थियो। १४ तलाको होटलमा १५३ कोठा छन्।
३० डलर मूल्य बढ्यो
सेन्ट्रिकमा अपग्रेड भएसँगै कोठाको मूल्य बढेको छ। प्लेसभन्दा सेन्ट्रिकमा रहेका कोठा संसारभरि २० देखि २५ प्रतिशतसम्म मूल्य बढी हुन्छ। त्यहीअनुसार नेपालमा पनि मूल्य बढ्नुपर्ने भए पनि पर्यटक आगमनको रफ्तार बढ्न नसक्दा थोरै मात्रामा मूल्य बढाएको जनाएको छ।
हायात प्लेसमा १ सयदेखि ११० डलरसम्म पाइने कोठा बढेर १२० देखि १३० अमेरीकी डलरसम्म पुगेको छ। अहिलेको स्थितिमा बजारको प्रतिस्पर्धाको आधारमा केही मूल्य घटेको छ।
‘प्लेस हुँदा प्रतिस्पर्धी होटलको रुपमा र्याडिसन, अल्फट, याक एण्ड यतिलाई लिइरहेका थियौंँ,’ निर्देशक गोल्यानले भने ‘अब सेन्ट्रिक बनेपछि सोल्टी, म्यारियट, हिल्टन हो, त्यही अनुसारको कोठा बिक्री गर्छौं।’