काठमाडौं। लगातार जसो घटिरहेको सेयर बजार गत साता ४८ अंकले बढ्यो । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् पुष १८ गते २५८६.२३ विन्दुमा रहेको सेयर बजारसूचक नेपाल स्टक एकसचेञ्ज (नेप्से) गत साताको पाँच कारोबार दिनमा एक दिन घटेर चार दिन बढ्दा ४८.८६ अंकको वृद्धिका साथ २६३५.०९ विन्दुमा रोकिएको छ। गत साना नेप्से ४८ अंकले बढेको भए पनि अघिल्लो साता भने ४४.४८ अंकले घटेको थियो।
पछिल्लो केही सातायता सुस्ताएको सेयर बजारमा गत साताको कारोबार स्थितिले भने केही सकारात्मकता संकेत गरेको छ। तर, वित्तीय सूचकमा कमजोर कम्पनीमाथि नै लगानीकर्ताले बढी आफूलाई केन्द्रीत गरिरहेका छन्। जसले गर्दा बजार वृद्धि टिकाउ नहुने हो कि भन्ने आशंका पनि पैदा भइरहेको छ।
गत साता जलविद्युत् समूहको सेयर मूल्य सर्वाधिक अर्थात् ५.५७ प्रतिशतले, होटल तथा पर्यटन समूह ४.६१ प्रतिशतले र फाइनान्स समूह ४.४७ प्रतिशतले उकालो लागे।
गत साताको पाँच कारोबार दिनमा विकास बैंक समूहमा ३.७७ प्रतिशत, लगानी समूहमा २.८४ प्रतिशत, जीवन बिमा समूहमा २.५६ प्रतिशत, माइक्रोफाइनान्स समूहमा १.३७ प्रतिशत र निर्जीवन बिमा समूहमा १.०४ प्रतिशतको वृद्धि देखियो। लामो समयदेखि चल्न नसकेको बैंकिङ समूह गत साता पनि ०.३८ प्रतिशतले खुम्चियो। अर्थात् अघिल्ला साताहरू जस्तै गत साता पनि साना र कमजोर वित्तीय सूचक भएका कम्पनीको बाहुल्य रहेका समूहमा नै लगानीकर्ता झुम्मिए।
समूहगत वृद्धि मात्रै होइन, सबैभन्दा बढी सेयर मूल्य आकासिने कम्पनीमा पनि यस्तै प्रवृत्ति देख्न सकिन्छ। गत साता न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक अर्थात् ३९.३९ प्रतिशतले बढ्यो भने सिन्धु विकास बैंकको ३५.६८ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको २३.४५ प्रतिशत र रिभर फल्स पावरको २३.०८ प्रतिशतले बढ्यो। ग्रीन विकास बैंकको सेयर मूल्य २१.७४ प्रतिशत, सप्ताकोशी विकास बैंकको २१.६९ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य२०.४३ प्रतिशतले उकालो लाग्यो।
बजारमा वित्तीय सूचकमा राम्रो मानिएका र सीमित मात्रामा भए पनि प्रतिफल वितरण गर्दै आएका कम्पनी भने लगानीकर्ताको नजरमा परेका छैनन्। हुन त, यो हालैमात्र देखिएको प्रवृत्ति होइन। खासगरी, २०७८ सालमा बुलले सूचक २५०० विन्दु कटाएपछि बजारमा नयाँ र युवा जमातको प्रवेश भयो। सो र त्यसभन्दा पछाडि बजार प्रवेश गरेका अधिकांश लगानीकर्ता दीर्घकालीन लगानीमा विश्वास गर्दैनन्। यीनीहरु दुई दिने कारोबार र नाफा कमाउने बाटोमा मात्रै बढी लागेको देखिन्छ।
बजारमा ठूलो हिस्सा रहेको यो युवा जमात अहिले पनि ट्रेडबाहेक अन्य विषय (बोनस, लाभांस, नाफा नोक्सान)मासरोकार नराख्ने किसिमको छ। आजका दिनमा जुन कम्पनीको वित्तीय विवरण खराब आएको छ, त्यही कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगाएर उठाउने काम गरिन्छ। राम्रो वित्तीय विवरण भएको र प्रतिफल दिने कम्पनीको मूल्य झनै घटेर जाने स्थिति बनेको छ जुन ट्रेडरहरूका कारणले भएको लगानीकर्ता बताउँछन्।
‘अहिलेका लगानीकर्तामा जति नै महँगो भए पनि म बिक्री गरेर भागिहाल्छु, डुबेनी अरु डुब्ने हुन् भन्ने किसिमको धारणा देखिन्छ। यस्ता युवाले कमजोर कम्पनीमा जोखिम छ भन्ने नहेरी सिधै लगानी गर्ने र बिक्री गरिहाल्ने गर्छन्,’ एक लगानीकर्ताले भने, ‘म बिक्री गरेर निस्किन्छु, डुबेनी अरु डुब्छन् भन्ने सोच राखेर भटाभट त्यसैमा लगानी गर्ने काम निरन्तर बढ्जो छ। यो क्रममा धेरैले नराम्रोसँग गुमाइसकेका पनि छन्।’ उनलेमूल्य माथिल्लो बिन्दु भएको समयमाअन्तिममा जसले किन्छ त्यो बजार फर्कन मन नलाग्नेगरी फस्ने गरेको बताए।
हुन त, यी सबै विषयमा लगानीकर्ताले ध्यान दिनुपर्ने हो। सेयर कारोबारको दोस्रो बजारमा प्रवेश गरेपछि नयाँ लगानीकर्ता भनेर वा अन्य केही भनेर हुँदैन। बजारमा कसरी खेलिन्छ, कस्तो शैली अपनाइन्छ जस्ता विषयमा लगानीकर्ता जानकार हुनुपर्छ। कम्पनीको नाफा, बोनस, लाभांस क्षमता, नेटवर्थ यी कुरा हेरेर लगानी गर्नुपर्ने भए पनि त्यसमा कसैले ध्यान दिएको देखिँदैन। एकाले अर्कोलाई महँगोमा सेयर भिराउने र आफू नाफा कमाउने भन्ने होडबाजी मात्रै बढी चलेको छ।
कारोबार ट्रेन्डलाई हेर्ने हो पनि अधिकांश मानिसहरु यहितर्फ झुम्मिएको देखिन्छ। गत साताको कम्पनीअनुसारको कारोबार हेर्ने हो भने पनि एनआरएन इन्फ्राटक्चरएन्ड डेभलपमेन्टको सेयर सर्वाधिक अर्थात् ८४ करोड ८७ लाख, सिन्धु विकासको ७२ करोड ५७ लाख, सुमर मादी जलविद्युत्को ७२ करोड २० लाख र जानकी फाइनान्सको ६० करोड रुपैयाँको सेयर कारोबार भएको देखिन्छ। न्यादी हाइड्रोको ५६ करोड ६७ लाख, सप्तकोशी डेभलपमेन्टको ५५ करोड ५७ लाख र नेपाल फाइनान्सको ४१ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको देखिन्छ।
समग्रमा भने गतसाता सेयर बजारमा कुल २९ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो साता भने नेप्सेमा कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। केही वर्ष यता बजामार बलिया मानिएका बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल घट्दै गएको, आम्दानी कम हुँदै गएको, नीतिगत अनिश्चितता, कर्जा प्रवाह नहुनु, निष्क्रिय कर्जा बढ्नु जस्ता कारणले पनि लगानीकर्ता कमजोर र कम पुँजी भएका कम्पनीमा बढी लागि परेको देखिन्छ जुन जोखिममा हिसाबमा तुलनात्मक रुपमा बढी जोखिमयुक्त छ।